चैत्र १३ काठमाडौँ _उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीहरुको महान पर्व रामनवमी  २०८२ पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले भगवान श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई आत्मसात गर्दै देश र समाजमा एकता, प्रगति र समृद्धितर्फ अग्रसर हुने प्रेरणा लिनुपर्ने बताए। रामनवमी केवल धार्मिक पर्व नभई सामाजिक सद्भाव, नैतिकता र अनुशासनको प्रतीक रहेको उल्लेख गर्दै उनले श्रीरामको जीवनबाट सबैले शिक्षा लिनुपर्नेमा जोड दिए। श्रीरामले जीवनभर सत्य र धर्मको मार्ग अपनाएर आमा–बुवाको सम्मान, कर्तव्यप्रति निष्ठा र समाजमा न्याय स्थापनाको मार्ग देखाएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपाली समाजले पनि यस्तै आदर्श अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरे।

रामनवमीको अवसरमा गरिने भजन, कीर्तन र उपासनाले नागरिकमा भक्ति, अध्यात्म र नैतिक मूल्यहरुको विकास गर्न सघाउने बताउँदै उनले नेपाली समाजमा मेलमिलाप, भाइचारा, सौहार्द र सहिष्णुताको प्रवद्र्धन गर्न यो पर्वले सहयोग पुगोस् भन्ने कामना समेत गरेका छन्। 

शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति, धर्म र आस्थाले हामीलाई वैरभाव र क्लेशबाट अलग राखी शान्ति, परोपकार र सदाचारको मार्गमा अघि बढ्न प्रेरित गर्दछ धारणा व्यक्त गरे। भगवान श्रीरामको जीवन आदर्शलाई आत्मसात गर्न सके मात्र हामीले रामनवमीलाई साँचो अर्थमा मनाएको ठहरिनेछ । रामनवमी पर्व नेपाली समाजलाई नैराश्य र अनैतिकताबाट उन्मुक्ति दिलाउने शंखनादको माध्यम पनि बनोस् । अन्त्यमा, यस अवसरमा सबै नेपालीले श्रीरामझैं सत्य, धर्म र मर्यादित संकल्पका साथ जीवनयात्रा अघि बढाउन प्रेरणा प्राप्त गरून् । रामनवमी पर्वले हाम्रो समाजलाई नैतिकता, सद्भाव र एकताको मियो बनेर राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धुत्वलाई अझ सुदृढ बनाओस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।