चैत्र ७ ललितपुर___उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले आयोगले आफ्नो स्थापनाको सातौं वार्षिकोत्सव तथा ईद मिलन–२०८२ को अवसरमा शनिबार ललितपुरको जावलाखेलमा आयोजना गरेको विशेष समारोहमा सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।उपराष्ट्रपति यादवले संविधानले सुनिश्चित गरेको समानता, न्याय र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई मूर्त रूप दिन आयोगले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, सामाजिक सद्भाव र सांस्कृतिक उत्थानका क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभयो ।

‘मुस्लिम समुदायले नेपालको इतिहास, संस्कृति, व्यापार, शिक्षा, कला र सामाजिक सद्भावमा पुर्याएको योगदान अमूल्य छ ’ उहाँले भन्नुभयो, ‘मुस्लिम आयोगले भविष्यमा अझ उज्ज्वल यात्राको संकल्प लिनुपर्ने आवश्यकता छ । ’ समारोहमा उपराष्ट्रपति यादवले मुस्लिम युवाहरूलाई गुणस्तरीय शिक्षा, निजामती सेवा, न्याय सेवा, सेना–प्रहरी तथा कूटनीतिक निकायमा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । साथै, मुस्लिम महिलाहरूलाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

उहाँले नेपाललाई विविधता र सहअस्तित्वको सुन्दर बगैंचा भएको उल्लेख गर्दै भन्नुभयो, ‘मुस्लिम समुदायले आफ्नो संस्कृति, परम्परा र विश्वासका फूलहरू फुलाउँदै साझा पहिचानलाई अझ सुगन्धित बनाएको छ ।’ मुस्लिम आयोगले समुदायको अधिकार प्रवद्र्धन, क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरी सुखी, समृद्ध र आत्मनिर्भर समुदाय निर्माणमा अग्रणी भूमिका खेलोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा आज मनाईँदै गरेको ईद–उल–फित्रको पावन अवसरमा ‘ईद मुबारकवाद’ भन्दै हार्दिक शुभकामना दिनुहुँदै समारोहमा सम्मानित भएका व्यक्तित्वहरूलाईे हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।