फागुन १५ वीरगंज____ जिल्ला प्रशासन कार्यालय, पर्साले शुक्रवारदेखि लागू हुने गरी मदिरा व्यवसाय तथा बिक्री–वितरण बन्द गरिएको भन्ने सूचनाप्रति पर्सा मदिरा व्यवसायी संघले आपत्ति जनाएको छ । पर्सा मदिरा व्यवसायीले संघले बिहीवार जारी गरेको विज्ञप्तिमा अहिलेको अवस्थामा मदिरा व्यवसायीहरूको आर्थिक स्थिति पहिले नै कमजोर रहेको छ । देशको वर्तमान परिस्थितिले व्यवसाय थप प्रभावित भएको उल्लेख छ । राज्यलाई कर तिर्ने प्रमुख क्षेत्रमध्ये मदिरा व्यवसाय पनि एक हो । वर्षाैं देखि व्यवसायीहरूले राज्यको राजस्वमा महŒवपूर्ण योगदान गर्दै आएका छन् । तर यही व्यवसायलाई लक्षित गरेर यसरी अचानक गरिएको निर्णयले व्यवसायीहरूलाई गम्भीर संकटमा पारेको विज्ञप्तिमा उल्लेख छ ।

विशेषगरी होली जस्तो पर्व वर्षमा एक पटक आउने महत्वपूर्ण समय हो, जसमा धेरै जसो व्यवसायीहरूले वर्ष भरिको ठूलो कारोवार गर्ने अपेक्षा राखेका हुन्छन् । यही समयलाई लक्षित गरेर धेरै व्यवसायीहरूले बैंक, सहकारी, साथी–भाइ तथा अन्य स्रोतबाट सापटी, ऋण तथा कर्जा लिएर सामान खरिद गरी व्यापारको तयारी गरेका हुन्छन् । यस्तो अवस्थामा होली आउनु भन्दा करिब एक हप्ता अगाडि नै पसल बन्द गर्ने निर्णय गर्नु कतिको न्यायोचित हो भन्ने गम्भीर प्रश्न उठेको संघले जनाएको छ ।

विज्ञप्तिमा यदि व्यवसाय नै सञ्चालन गर्न नदिने हो भने व्यवसायीहरूले लिएको ऋण, बैंकको किस्ता, घर–परिवारको खर्च र राज्यलाई तिर्नु पर्ने कर कसरी तिर्ने ? यसको जिम्मेवारी कसले लिने ? राज्यले व्यवसायीहरूको पीडा र वास्तविक अवस्थालाई बुझ्नु अत्यन्त आवश्यक रहेको र यस विषयमा पर्सा मदिरा व्यवसायी संघ सम्बन्धीत निकाय समक्ष गम्भीर आपत्ति प्रकट गर्दै उक्त निर्णय पुनर्विचार गर्न तथा व्यवसायीहरूको समस्या, लगानी र परिस्थितिलाई मध्यनजर गर्दै उपयुक्त समाधान निकाल्न माग गरेको छ ।विज्ञप्तिमा सम्पूर्ण व्यवसायी साथीहरूलाई संयमित र एकताबद्ध भई आफ्नो हक–अधिकारका लागि उभिन पनि अनुरोध गरिएको छ