माघ ११ जनकपुरधाम___ चार सिटका लागि मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिला क्लस्टरतर्फ नेकपा एमालेकी उम्मेदवार रेखा झा विजयी हुनुभएको छ। उहाँले ७ हजार २ सय २२ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ मत प्राप्त गर्नुभयो। अल्पसंख्यक क्लस्टरतर्फ नेपाली कांग्रेसका उम्मेदवार रञ्जित कर्ण विजयी हुनुभएको छ। कर्णले ८ हजार ९३ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ मत प्राप्त गर्नुभयो।

यस्तै, अन्य क्लस्टरतर्फ जसपा नेपालका नेता महन्थ ठाकुर ७ हजार ७ सय २५ मत ल्याउँदै विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८ सय ५ मत प्राप्त गर्नुभयो। दलित क्लस्टरतर्फ नेपाली कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान विजयी हुनुभएको छ। पासवानले ७ हजार ९०४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मतमा सीमित रहनुभयो। गठबन्धनका चारै उम्मेदवार विजयी भएसँगै मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनको दबदबा देखिएको छ।