पौष ११ रौतहट __ तराई मधेशमा पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै यस क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो कठ्याग्रिङ्दो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि मौसम प्रतिकूल हुँदा सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी तथा बालीनाली सबै प्रभावित भएका छन् ।

निरन्तरको बढ्दो जाडोका कारण यो वर्ष कुनै मानवीय क्षति नभए पनि तराई मधेशको मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व दक्षिणवर्ती विभिन्न गाउँबस्तीका सर्वसाधारणको दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् ।

चिसोका कारण मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ । हरेक जिल्लाको विभिन्न अस्पतालहरुमा अहिले दैनिक १५० देखि २०० सम्म बिराम आउने गरेका छन् ।

बारी तथा खेतमा लगाइएको हिउँदेबाली, दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेका किसानले बताएका छन् । चिसोका कारण सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । यसैबीच हरेक पसल बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन् ।

अहिले हरेक जिल्लाका निजी क्लिनिक, स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा चिसोका बिरामीको सङ्ख्या वृद्धि भएको छ । बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यस्थापन समितिहरुले पालिकालाई आइपर्ने विपद्सँग जुध्नका लागि तयार भएर बस्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारीले पनि जिल्ला वन कार्यालयसँग समन्वय गरी सबै पालिकामा उचित दररेटमा दाउरा उपलब्ध गराउन पहल गर्नुका साथै सबै पालिका प्रमुखसँग जनताको जीउज्यान रक्षाका लागि चोकचोक र गाउँगाउँमा दाउरा बाल्न आग्रह गर्नुभएको हो ।

तराई मधेशको जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका नागरिकलाई चिसो बढिरहेकाले आवश्यक नपरेको खण्डमा घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरेको छ ।