पौष १० वीरगंज ___ बिहीबार बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।बिहीबार दिउँसो देशका तराई भू-भागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका तराई भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।