पौष ८ वीरगंज ___ राष्ट्रिय मुक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको उपस्थितिमा पार्टीका नेता तथा कार्यकर्ताबीच पार्टी कार्यालयमा सम्पन्न भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला अध्यक्ष राजेश साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका सह–महासचिव नेजामुद्दीन शमानीले समसामयिक राजनीतिक परिस्थिति, देशको वर्तमान अवस्था तथा पार्टीको भावी कार्यदिशाबारे महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू अनिरुद्ध प्रसाद कलवार, रेखा घिमिरे, गगनदेव प्रसाद कुर्मी तथा दिव्य प्रकाश चतुर्वेदीलगायतको विशेष उपस्थिति रहेको थियो। यसै अवसरमा गिरधारी झाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय मुक्ति पार्टी नेपालमा टिका लगाई औपचारिक रूपमा प्रवेश गरिएको छ। नवप्रवेशी सदस्यहरूलाई राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो ज्यूले पार्टीमा स्वागत गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतो ज्यूले कांग्रेस र कम्युनिस्टहरूको गलत नीतिका कारण देश गम्भीर आर्थिक सङ्कटमा फसेको र निहत्था युवाहरूलाई जेन–जी आन्दोलनमा सहादत दिन बाध्य बनाइएको उल्लेख गर्नुभयो। उहाँले विगतमा भएका मधेश आन्दोलन, थारू आन्दोलन, जनजाति आन्दोलन छुट्टाछुट्टै रूपमा सम्पन्न भए पनि अबको आन्दोलन मधेशी, जनजाति, थारू लगायत सबै समुदाय एकजुट भई संविधान पुनर्लेखनका लागि साझा संघर्ष गर्ने स्पष्ट पार्नुभयो।