राकेश यादव

पौष ६ रौतहट ___आगामी फाल्गुन २१ गते हुने आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि रौतहट जिल्लामा राजनतिक दलहरुले पहिलो निर्वाचित हुने प्रत्यक्ष तथा समानुपतिक निर्वाचनको लागि धमाधम उम्मेदवारहरुको नाम टुंगो लगाउने कार्य शुरु गरेको छ । गत भाद्र २३ र २४ मा भएको जेन जेड समुहको आन्दोलन पछि गठन भएको पुर्व प्रधान न्यायधिश सुशिला कार्की नेतृत्वको चुनावी सरकारले फाल्गुन २१ गतेमा प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरे पछि राजनीतिक दलहरुले आ आफ्नो पार्टीका तर्फबाट निर्वाचनमा सहभागी हुने उम्मेदवारको नाम सिफारिश गर्न थालेको हो ।

रौतहटमा नेपाली कांग्रेस ,जनता समाजवादी पार्टी नेपाल , लोकतान्त्रिक समाजवादी पार्टी , जनमत पार्टीले आफ्नो पार्टीको उम्मेदवार छनौट गरिसकेका छन् । कांग्रेसका मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नाउ २ निर्वाचन क्षेत्रबाट सिफारिश गरिएको छ । रौतहट क्षेत्र नम्बर १ र ३ बाट मुख्यमन्त्री यादवको नाउ सिफारिश गरिएको हो ।कांग्रेसले क्षेत्र नम्बर १ बाट कृष्ण प्रसाद यादव , रामेश्वर प्रसाद यादव नितेश गुप्ताको नाम सिफारिश गरेको छ । क्षेत्र नम्बर २ बाट पुर्व मन्त्रि स्वर्गीय महमद आफताव आलमको छोरा डाक्टर मोहमद फिर्दोस आलम ,क्षेत्र नम्बर ३ मुख्यमन्त्री कृष्ण यादव , जिल्ला सभापति एवम पुर्व अर्थमन्त्री सुनिल कुमार यादव ,ज्ञानेन्द्र यादव र क्षेत्र नम्बर ४ बाट निवर्तमान संसद देव प्रसाद तिमिल्सिनाको नाम प्रत्यक्ष तर्फ सिफारिश गरेको छ ।

जनमत पार्टीले केन्द्रिय अध्यक्ष डाक्टर सिके राउतको नाम रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ सिफारिश गरेको छ ।जनता समाजवादी पार्टी नेपालले क्षेत्र नम्बर १ बाट पुर्व राज्यमन्त्री योगेन्द्र राय यादवको नाम सिफारिश गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले क्षेत्र नम्बर १ बाट अनिल कुमार सिंहको नाम प्रत्यक्ष तर्फ सिफारिश गरिएको बुझिएको छ । विघठित प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै आएका नेकपा एमालेले प्रतिनिधि सभाको उम्मेदवारको नाम छनौटको लागि अहिले सम्म प्रक्रिया अगाडी बढाएको छैन ।नेपाल कम्युनिस्ट पार्टीले एकता संदेश सभा गर्नमा व्यस्त देखिएका छन् ।