मङ्सिर २४ एजेन्सी ___ म्यानमारका विभिन्न अनलाइन स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ जना नेपाली नागरिकहरूलाई स्वदेश फर्काइएको छ । थाइल्यान्डस्थित नेपाली राजदूतावासले उनीहरूलाई उद्धार गरेको हो । उद्धार गरिएका यी नेपालीहरू विभिन्न २६ जिल्लाका हुन् । तीमध्ये ४५ जना पुरुष र २ जना महिला छन् । स्वदेश फर्काइएकाहरूमा चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमका १/१ जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका २/२ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका ३/३ जना तथा झापाका ५ जना छन् ।

१७ वर्षका १ जना, २०–२५ वर्षका २६ जना, २६–३० वर्षका १० जना, ३१–३५ वर्षका ८ जना, ४० वर्षका १ जना र ४१ वर्षका १ जना रहेको दूतावासले जनाएको छ । उनीहरूको शैक्षिक योग्यता प्रायः १०+२ पास वा सूचना प्रविधिसँग सम्बन्धित भएको छ । यी व्यक्तिहरू स्क्याम सेन्टरमा २ महिनादेखि १८ महिनासम्म बन्धक बनाइएका थिए । उनीहरू विभिन्न व्यक्ति, साथीभाइ, अनलाइन गेम (जस्तै पब्जी) खेल्ने साथी, सामाजिक सञ्जालका विज्ञापन तथा अनलाइन साथीमार्फत सम्पर्कमा आएका थिए । कतिपय भारत वा दुवईमा अध्ययन/काम गर्दा चिनजान भएका व्यक्तिमार्फत पनि त्यहाँ पुगेका थिए । उनीहरूलाई सामाजिक सञ्जाल (ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्राम) मार्फत घण्टाको राम्रो कमाइ, एक लाखभन्दा बढी तलब भएको अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर वा रिसेप्सनिस्टको कामको प्रलोभन देखाइएको थियो ।

स्क्याम सेन्टरमा पुगेपछि सुरुमा आरामदायी काम लगाइए पनि पछि लक्ष्य (टार्गेट) नपुगेमा आर्थिक तथा शारीरिक यातना, बन्धक बनाई परिवारसँग फिरौती माग्ने, जेल पठाउने वा हत्या गर्ने धम्की दिइने गरिएको थियो । निस्कन खोज्दा अर्को व्यक्तिलाई नल्याएसम्म छुटकारा नदिने नीति पनि लागू गरिएको थियो । नेपाली राजदूतावासले २०८० साउन २३ गतेदेखि कम्बोडिया, थाइल्याण्ड, म्यानमार, लाओसजस्ता क्षेत्रमा यस्ता रोजगारीको प्रलोभनमा नजान यात्रा सचेतना (Travel Advisory) जारी गर्दै आएको छ । थाइल्याण्ड सरकारले म्यानमारबाट विदेशी नागरिकको स्वदेश फिर्तीलाई सहज बनाउन बनाएको Standard Operating Procedure अनुसार उद्धार गरिएको हो ।