मङ्सिर २४ काठमाडौं___ उपराष्ट्रपति रामसहाय प्रसाद यादव संग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदान पश्चात नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरुमा सहकार्य, श्रम, आप्रवासन, व्यापार लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र कतारबीचको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रही उत्कृष्ट रूपमा विकसित भएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

उहाँले संयुक्त राष्ट्र संघ तथा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका रूपमा नेपाल र कतारले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा निरन्तर सहकार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले हालैका वर्षहरूमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले दुई देशबीचको सम्बन्ध अझ घनिष्ट बनेको बताउनुभयो । कतारमा करिब तीन लाख ६५ हजार नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । ‘नेपाली श्रमिकहरूले कतारको अर्थतन्त्रमा पुर्याएको योगदान र नेपालमा रहेका परिवारलाई सहयोग गर्दै नेपालको अर्थतन्त्रलाई सुदृढ बनाएकोमा खुशी व्यक्त गर्दछु ’ उहाँले भन्नुभयो, ‘नेपाल सरकार सुरक्षित तथा सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्न प्रतिबद्ध छ । ’

उपराष्ट्रपति यादवले सन् २०२५ को रमादान तथा ईदको अवसरमा नेपाली बन्दीहरूलाई ‘अमीरि क्षमादान’ प्रदान गरेकोमा कतारका अमिरप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै, नेपाल २०२६ मा अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति गर्ने र २०३० सम्म मध्यम आय भएको देश बन्ने लक्ष्य राखेको सन्दर्भमा कतारसहितका मित्र राष्ट्रहरूबाट थप लगानी तथा सहयोग आवश्यक रहेको बताउनुभयो । नेपाल र कतारबीचको प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले काठमाडौं र दोहा प्रत्यक्ष उडानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा नेपाली जनताको आतिथ्यभाव कतारी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताउनुभयो । कतारको राष्ट्रिय दिवसको अवसरमा उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत कतारका अमिर हिज हाइनेस शेख तमिम बिन हमाद अल–थानी तथा कतारका जनतालाई हार्दिक बधाई दिँदै अमिरको सुस्वास्थ्य, खुशी तथा कतार जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभयो । कतारका महामहिम राजदूत मिशाल मोहम्मद अल अन्सारीले नेपाल र कतारबीच धेरै पुरानो तथा बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा कतारले तीस जना नेपालीलाई कतारको कारागारबाट रिहा गरेको बताउनुभयो ।