मङ्सिर १९ काठमाडौं___  सरकारले फिर्ता बोलाएका ११ जना राजदूतमध्ये ६ जनाले राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राजीनामा दिने सबै ६ जनाको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ। सरकारले ३० असोजमा कार्यसम्पादनप्रति प्रश्न उठाउँदै ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो।

सर्वोच्चको आदेशपछि सरकार घुमाउरो शैलीमा पूर्व–राजदूतहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्न लगाउने निर्णयमा पुगेको थियो। सोही अनुसार मन्त्रालयमा बोलाइएका ११ मध्ये हालसम्म ६ जनाले राजीनामा दिएका हुन्।राजीनामा दिने ६ राजदूतहरुमा लोकदर्शन रेग्मी (अमेरिका) , कृष्णप्रसाद ओली ( चीन), चन्द्रकुमार घिमिरे (बेलायत), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस) , डा. नेत्रप्रसाद तिमल्सिना ( मलेसिया) रहेका छन । यी सबैको राजीनामा विदेशबाट फर्किएलगत्तै स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।

राजीनामा नदिएका अन्य ५ राजदूतहरु शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान) परराष्ट्र मन्त्रालयमा दैनिक हाजिर भई कामकाज गरिरहेका छन्। उनीहरूले सर्वोच्चको मुद्दाको अन्तिम टुंगो नलागेसम्म मन्त्रालयमै हाजिर हुने र निर्णयपछि मात्र आफ्नो पक्ष स्पष्ट गर्ने बताएका छन्। सर्वोच्चमा मुद्दा जारी रहेकाले अब बाँकी राजदूतहरूको भविष्य अदालतको निर्णयले नै तय गर्ने संकेत देखिएको छ।