पौष ९ वीरगंज___वीरगंज सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउने अभियान थालेका वीरगंजका जेनजी पुस्ताका युवाहरुले नदीमा प्रदुषण गरिरहेका उद्योगहरुलाई ७२ घण्टाभित्र कारबाही नगरिए वीरगंज उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन् । वीरगंज  शहरको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी पर्सा–बारामा रहेका उद्योगहरुका कारण करिब तीन दशकदेखि प्रदुषित छ । नदीलाई प्रदुषणमुक्त बनाउन वीरगंज महानगरपालिका लगायतका संस्थाले विगत एक दशकदेखि विभिन्न प्रयास गरेपनि नदी अझ प्रदुषणमुक्त हुन सकेको छैन ।

त्यसैकारण अब आँफै अगाडि सरेका जेनजी पुस्ताका युवाहरुले गत शनिबारदेखि सिर्सिया नदी बचाउ अभियान थालेका हुन् । अभियानको पहिलो दिन गत शनिबार उनिहरुले नदीको फोहोर पानी बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको कार्यालयमा लगेर सिर्सिया नदीको उपहार भन्दै दिएका थिए ।बुधबार वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलाई ज्ञापनपत्र बुझाउँदै युवाहरुले नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगंज उद्योग वाणिज्य संघले ७२ घण्टाभित्र कारबाहीको दायरामा नल्याए आगामी शनिबारदेखि उद्योग वाणिज्य संघकै विरोधमा आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

पर्सा–बारामा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुले वर्षौदेखि नदीमा औद्योगिक फोहोर, रासायनिक प्रदूषण, विषाक्त ढल तथा अन्य हानिकारक पदार्थहरू निरन्तर रूपमा विसर्जन गर्दै आएको कारण कारण नदीको पानी पूर्ण रूपमा प्रदूषित भएको सिर्सिया नदी बचाउ अभियानका अगुवा किसु सर्राफले बताए । नदी प्रदुषित हुदाँ नदी आसपासका दर्जनौ मानवबस्तीका स्थानीयको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गरेको र खेतीयोग्य जमिनको उर्वराशक्तिपनि नष्ट भएको भन्दै उनले नदीमा जलचर जीवहरू पनि लोप हुँदै जाँदा समग्र जैविक विविधता तथा वातावरणीय सन्तुलनमा ठूलो क्षति पुगेको बताए ।

पर्सा–बारामा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुको छाता संगठन वीरगंज उद्योग वाणिज्य संघले ७२ घण्टाभित्रै ती उद्योगहरूलाई कारबाही दायरामा नल्याए आगामी शनिबारदेखि आँफुहरु बाध्य भएर सशक्त आन्दोलनमा उत्रने चेतावनी उनले दिए । उद्योगहरुलाई कारबाही नगरिए र नदीको प्रदुषण नरोकिए शनिबारदेखि वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालय परिसरमा अनिश्चितकालीन धर्ना र विरोध प्रदर्शनका कार्यक्रमहरु थाल्ने उनले बताए ।