पौष २ वीरगंज ___ निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ आजदेखि वीरगंजको आदर्शनगर रङ्गशालामा सुरु भएको छ। आदर्शनगर रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले भने पढाइसँगै खेलकुदलाई समान महत्व दिन सकेमा अनुशासित, आत्मविश्वासी र सक्षम नागरिक तयार गर्न सकिन्छ। बालिका तथा जुनियर तहका विद्यार्थीलाई लक्षित यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउँछ। मेयर सिंहले वीरगंज महानगरपालिका खेलकुद प्रवर्द्धनका लागि सधैं सहयोगी रहने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रमको सञ्चालन प्याब्सन वीरगंजका सचिव अमित आलोकले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मानन्द कुशवाहले प्रस्तुत गरेका थिए।प्रतियोगितामा वीरगञ्जका ३६ वटा प्याब्सन सदस्य विद्यालयका टिमहरूको सहभागिता रहेको छ। जसअनुसार ३३६ जना छात्रा र ४३४ जना जुनियर छात्र गरी कुल ७७० जना खेलाडीले प्रत्यक्ष सहभागिता जनाइरहेका छन्। प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले प्रतियोगिताको मुख्य उद्देश्य महिला क्रिकेटलाई प्रोत्साहन गर्नुका साथै सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा संलग्न गराई उनीहरूको सर्वाङ्गीण विकास गर्नु रहेको बताए।

प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने, नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, प्याब्सन वीरगंजका वरिष्ठ उपाध्यक्ष सुशिला साह तथा सल्लाहकारहरू अशोक सङौला,आलोक चौरसिया र विजय बलको उपस्थिति रहेको थियो। विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउने, अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र टिमवर्कको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।