पर्सा । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–६, भौराटारका ३३ वर्षीय अमेरिका प्रसाद साह गोढ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, गोढको घरमा खानतलासी गर्दा १३ किलो गाँजा, ७१.८० ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरिएको हो।

लम्सालका अनुसार, विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएर गोढको घरमा छापा मार्दा लागूऔषध फेला परेको हो। गाँजा र अफिमसहित पक्राउ परेका गोढलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।