पौष ५ वीरगंज ___ नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था, उपलब्धि र चुनौतीहरूबारे छलफल गर्न एड्स हेल्थकेयर फाउन्डेसन नेपालले वीरगंजमा संचारकर्मिहरुसगं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा एचआईभि माथी कामगर्ने सरोकारवालाहरुले एचआईभी नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै तथ्यपरक र संवेदनशील सहयोगात्मक रिपोर्टिङमा जोड दिएका थिए । नेपालमा एचआईभी नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई थप प्रभावकारी बनाउन स्थानीय तह, नागरिक समाज र सञ्चारकर्मीबीच सहकार्य मजबुत बनाउनु पर्ने आवश्यकता औल्याइएको थियो ।

कार्यक्रममा एड्स हेल्थकेयर फाउन्डेशनका कार्यक्रम तथा बजार व्यवस्थापक राधेश्याम श्रेष्ठले देशको समग्र एचआईभी अवस्थाबारे बिस्तृत जानकारी गराउदै नेपालमा एचआईभी सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको अवस्था नरहेकाले बताउनु भयो ।उहाले एड्सबारे अझदीर्घकालीन रणनीतिसहितका कार्यक्रम आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सर्वेश शर्माका अनुसार आगामी दिनमा नयाँ एचआईभी संक्रमणको रोकथाम, सङ्क्रमितहरूको स्वास्थ्य परिणाममा सुधार, देशभरका ९५ प्रतिशत सङ्क्रमितको पहिचान, पहिचान भएका ९५ प्रतिशत सङ्क्रमितलाई उपचारमा जोड्नुका साथै आमाबाट बच्चामा हुने सङ्क्रमणको निवारण लगायतको कार्ययोजनामा आफुहरु लागेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले राष्ट्रिय एचआईभी कार्यक्रमको अवस्थाबारे प्रस्तुति दिँदै सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिक अन्त्य गर्ने लक्ष्य अनुसार केन्द्रले समावेशी र पहुँचयोग्य सेवा सुनिश्चित गर्न काम गरिरहेको जानकारी दिए । उनका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन्, जसमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । १४ वर्ष मुनिका संक्रमितको संख्या १ हजार ५८ रहेको छ भने मधेस प्रदेशमा हाल एचआईभी संक्रमित ४ हजार ६८७ जना उपचाररत छन् ।

हाल देशका ६४ जिल्लामा रहेका ९६ वटा एआरटी सेन्टरमार्फत एचआईभीसम्बन्धी सेवा प्रवाह भइरहेको उल्लेख गर्दै डा. शर्माले भारतसँग खुला सीमा जोडिएका क्षेत्रहरूमा संक्रमणको जोखिम बढी रहेको बताए । संक्रमित आमा–बुबालाई नियमित औषधि सेवनमा जोड दिनु र बच्चामा संक्रमण हुन नदिन विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । यौनरोग नियन्त्रणका कार्यक्रमहरूमा बजेट अभाव, एआरटी काउन्सिलरको कमी र हरेक वर्ष संक्रमितको संख्या बढ्दै जानु चिन्ताको विषय बनेको उनले बताए । सेवा विस्तार हुँदै गएपनि यस क्षेत्रमा सरकारको बजेट भने घट्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सीमा क्षेत्रहरू एचआईभीका दृष्टिले बढी संवेदनशील भएकाले मिडियाले यस्ता विषयमा निरन्तर सहकार्य गर्नुपर्ने बताए । नागरिकलाई सही सूचना दिन र सचेतना फैलाउन मिडियाको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको धारणा थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा र वीरगञ्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख राजु साहले जिल्ला र महानगरभित्र एचआईभी परीक्षण, उपचार र सचेतनाका क्षेत्रमा भइरहेका कामहरूको जानकारी गराएका थिए ।

एएचएफ नेपालका बजार तथा कार्यक्रम व्यवस्थापक राधेश्याम श्रेष्ठले संस्थाबारे जानकारी दिँदै एड्स हेल्थ केयर फाउण्डेशन ४९ देशमा एचआईभी तथा यौनरोगको क्षेत्रमा कार्यरत गैरनाफामूलक संस्था रहेको बताए । विश्वभर करिब २६ लाख एचआईभी संक्रमितलाई सेवा प्रदान गर्दै आएको एएचएफले सन् २००९ देखि नेपालमा टेकु अस्पतालबाट एआरटी सेवा सुरु गरेको र हाल १७ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । एचआईभी परीक्षण, समुदायस्तरमै उपचार, टीबी स्क्रिनिङ र सचेतनाका कार्यक्रममार्फत नेपाल सरकारलाई सहयोग गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रमको उद्देश्यबारे एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले प्रकाश पारेका थिए । एएचएफ नेपालकी काउन्सिलर रोशनी सर्राफले पनि काउन्सिलिङ र फिल्डस्तरका अनुभवबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा एएचएफ नेपालका मयंक गुप्ता, राघवेन्द्र पाल लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए ।