पौष १ काठमाडौँ ___ चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (साउन–मंसिर) सरकारले आम्दानी र खर्चबीच १ खर्ब ४९ अर्ब ५५ करोड रुपैयाँ बराबरको खाडल देखाएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार, मंसिर मसान्तसम्म सरकारले कुल ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरे पनि खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। अपुग रकमको पूर्ति गर्न सरकारले सार्वजनिक ऋण लिनुपर्ने बाध्यता देखिन्छ।

राजस्व संकलन लक्ष्यभन्दा निकै पछाडि रहेको देखिन्छ। चालु पाँच महिनामा सरकारले ५ खर्ब २० अर्ब ४४ करोडको लक्ष्य राखेकोमा जम्मा ४ खर्ब ९ अर्ब ७८ करोड मात्र संकलन भएको छ। यसरी राजस्व संकलन लक्ष्यको ७८.७४ प्रतिशतमा सीमित भएको छ। आयकर संकलनमा सबैभन्दा ठूलो अन्तर देखिएको छस लक्ष्य १ खर्ब ११ अर्ब ७८ करोड रहेकोमा ७४ अर्ब २६ करोड मात्रै उठेको छ, जसले लक्ष्यको ६६।४४ प्रतिशत मात्र पुरा भएको देखाउँछ। खर्चतर्फ हेर्दा चालु खर्च मंसिरसम्म लक्ष्यको ३३.७ प्रतिशत पुगेको छ भने पूँजीगत खर्चमा सुस्त गति देखिएको छ। कुल ४ खर्ब ७ अर्ब ८८ करोडको वार्षिक पूँजीगत बजेटमध्ये केवल ३३ अर्ब ८७ करोड मात्र खर्च भएको छ, जुन लक्ष्यको ८.३ प्रतिशत मात्र हो।

वित्तीय व्यवस्थामा पनि १ खर्ब ३२ अर्ब खर्च भएको छ, जुन लक्ष्यको ३५.३२ प्रतिशत हो। यसरी पाँच महिनामा कुल बजेट खर्च लक्ष्यको २८.७४ प्रतिशतमा सीमित रहँदा सरकारी खर्च र आम्दानीबीच ठूलो खाडल उत्पन्न भएको छ। विशेषज्ञहरूका अनुसार, राजस्व संकलनमा ढिलाइ र पूँजीगत खर्चको सुस्त गतिले बजेट कार्यान्वयनमा चुनौती उत्पन्न गरेको छ। आगामी महिनाहरूमा सरकारले बाँकी बजेट कार्यान्वयन गर्न वित्तीय स्रोत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेछ।