मङ्सिर २७ सर्लाही___  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जिल्ला कार्यसमिति सर्लाहीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा टुंगो लगाई पार्टी केन्द्रमा सिफारिस गरेको छ। ‎पार्टी केन्द्रीय कार्यालय बबरमहलबाट जारी परिपत्रअनुसार शनिबार जिल्ला पार्टी कार्यालय मलंगवामा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारहरूको छनोट गरेको हो। जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

‎प्रत्यक्ष तर्फ सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट केन्द्रीय पदाधिकारी तथा अनुभवी नेताहरूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। क्षेत्र नम्बर १ बाट केन्द्रीय उपाध्यक्ष रामप्रकाश चौधरी, क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य भिनक लाल राय (सुजन) र रञ्जित कुमार ठाकुर (डा. बिरवंश बैठा), क्षेत्र नम्बर ३ बाट केन्द्रीय सचिव रामेश्वर राय तथा क्षेत्र नम्बर ४ बाट केन्द्रीय महासचिव मनिष कुमार मिश्रको नाम सिफारिस गरिएको छ।‎समानुपातिक तर्फ भने समावेशी सिद्धान्तलाई आधार मान्दै महिला, मधेसी, दलित तथा खुला समूहबाट उम्मेदवारहरू छनोट गरिएका छन्। यस सूचीमा अन्जु देवी बैठा, मिना देवी महतो कोइरी, सरिता देवी साह, सुनीता कुमारी देवी, कामरेन्द्र कुमार वर्मा र रेखा कुमारी साह लगायतका नेताहरूको नाम समावेश गरिएको छ।

‎देश र मधेसको वर्तमान राजनीतिक परिवेश तथा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला कार्यसमितिले यसपटक सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा युवा नेतृत्व प्रदान गर्ने उद्देश्यले सर्वसम्मतिमा उम्मेदवार छनोट गरेको जनाएको छ। साथै, पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई समानुपातिक तर्फको उम्मेदवार बनाउन सुझावसहित सिफारिस गरिएको छ। ‎जिल्ला कार्यसमितिले पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक समाजवादको मार्गदर्शनमा योग्य, सक्षम तथा जनआधार भएका व्यक्तिहरूलाई उम्मेदवारका रूपमा छनोट गरेको बताएको छ। सिफारिस गरिएका उम्मेदवारहरूको सूची पार्टी केन्द्रमा पठाइसकिएको जिल्ला सचिव मिथलेश यादवले जानकारी दिनुभयो।