मङ्सिर २७ काठमाडौँ ___ नेकपा (एमाले) को ११ औँ महाधिवेशनकाे बन्दसत्र आइतबार बिहान ८ बजेदेखि सुरु हुनेछ । आज भक्तपुरमा सम्पन्न भएको उद्घाटन समारोहपछि उपमहासचिव प्रदीप ज्ञवालीले अब आइतबार बिहान ७ः ३० बजे काठमाडौंको भृकुटीमण्डपस्थित कार्यक्रम हलमा उपस्थितिका लागि अनुरोध गरेका छन् । एमालेका देशभर २ हजार २ सय ६२ प्रतिनिधि छनोट भएका छन् । यो शनिबार मनोनयन गरिएका १ सय ८ सहितको सङ्ख्या हो । ती सबै प्रतिनिधिलाई बिहान र बेलुका खाना र खाजाको व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपमा करिब २६ सय व्यक्ति अटाउन सक्ने अस्थायी हल बनाएको पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बन्द सत्रलाई हाई टेक बनाइएको छ । विद्युतीय हाजिरी गर्ने मेसिन देखि सेल्फि खिच्ने र टिकटक बनाउने प्वाइन्ट राखिएका छन् । त्यस्तै कम्युनिस्ट इतिहास झल्किने तस्बिरहरू राखिएका छन् भने २३ जन वर्गीय सङ्गठनले गरेका कामहरू देखिने तस्वीर प्रदर्शनीमा राखिएको श्रेष्ठले जानकारी दिएका छन् । बन्दसत्रमा राजनीति, साङ्गठनिक प्रतिवेदन पेस हुनेछ । त्यस्तै २२ मङ्सिरमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई बुझाइएको अवधारणा पत्र प्रतिनिधिमाझ बाँडिने छ ।

शुक्रवार सम्पन्न सचिवालय बैठकमा अध्यक्षमा उम्मेदवार घोषणा गरेका पोखरेल र ओलीबिच देखिएको हार्दिकता शनिबार बिहान १ सय ८ प्रतिनिधि मनोनयन गरेसँगै कम भएको उनी पक्षका नेताहरूले बताएका छन् । शुक्रबारको बैठकलगत्तै सचिव योगेश भट्टराईले मनोनयन गर्ने प्रतिनिधिबारे अध्यक्ष ओली र उपाध्यक्ष पोखरेल बसेर टुङ्ग्याउने सहमति बनेको थियो । तर, ओलीले एकलौटी रूपमा शनिबार बिहान प्रतिनिधिको नाम सार्वजनिक गरिएको प्रति पोखरेल पक्ष असन्तुष्ट बनेको छ ।

पोखरेल पक्षका एक नेताले दिएको जानकारी अनुसार बन्द सत्र सुरु हुनुअगावै बैठक बसेर थप रणनीति तय गर्नेछ । भावी नेतृत्वका लागि पाेखरेलकाे प्रतिस्पर्धा हालका अध्यक्ष ओलीसँग हुने बुझिएकाे छ । यद्यपि ओलीले उम्मेदारी दिनेबारे सार्वजनिक भनिएकाे छैन । संस्थापन पक्षकाे टिम सार्वजनिक भएपछि मात्रै पाेखरेलले आफ्नाे टिम सार्वजनिक गर्ने तयारी गरेका छन् । एमाले महाधिवशेनका लागी प्रतिनिधि छनाेट चरणदेखि नै ध्रुवीकरण देखिएकाे छ ।