पर्सा, १० कार्तिक । पर्साको पर्सागढी नगरपालिका–२, मनवा क्षेत्रबाट प्रहरीले करिब ५ लाख रुपैयाँ मूल्य बराबरका ८ वटा राँगा–भैंसी बरामद गरेको छ। आवश्यक कागजातबिना पशु चौपाया ओसारपसार भइरहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

ठोरी गाउँपालिका–४, निर्मलबस्तीबाट बाराको जितपुरतर्फ लैजाँदै गरिएका राँगा–भैंसीलाई मनवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ऋषिराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चेकजाँच गर्दा पशु चौपायासम्बन्धी आवश्यक कागजात फेला नपरेको बताइएको छ।

पशु चौपाया नियन्त्रणमा लिएको एक दिनपछि निर्मलबस्ती वडा कार्यालयको सिफारिस पेश गरिएको भए पनि प्रहरीले गरेको प्रारम्भिक छानबिनबाट ती पशु चौपाया अवैध व्यापारिक प्रयोजनका लागि ओसारपसार गरिएको निष्कर्ष निकालेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले आइतबार साँझ करिब ६ बजे आठवटै राँगा–भैंसी बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो।

यसैबीच, नियन्त्रणमा लिइएका पशु चौपाया २४ घण्टाभित्र लिलाम गर्नुपर्ने व्यवस्था रहे पनि प्रक्रिया ढिला भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। दसैँ बिदापछि सोमबार कार्यालय सञ्चालनमा आएलगत्तै लिलामी प्रक्रिया अघि बढ्नुपर्ने भए पनि वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीको ढिलासुस्तीका कारण प्रक्रिया प्रभावित भएको स्थानीय धुरेन्द्र यादवले आरोप लगाएका छन्।

यादवका अनुसार पशु चौपाया नियन्त्रणमा लिएलगत्तै भन्सार कार्यालयलाई जानकारी गराइएको भए सम्बन्धित कर्मचारी घटनास्थलमै पुग्नुपर्ने थियो। तर कर्मचारी घटनास्थलमा पुग्न ढिलाइ गर्नुका साथै बरामदीसम्बन्धी आवश्यक कागजात भन्सार कार्यालयमै ल्याउन भनेपछि लिलामी प्रक्रिया २४ घण्टाभन्दा केही ढिला भएको उनको भनाइ छ।

यद्यपि, लिलामी प्रक्रिया ढिलाइ हुनुको वास्तविक कारण तथा यसमा सम्बन्धित निकायको भूमिका के थियो भन्ने विषयमा थप स्पष्टता आउन बाँकी रहेको स्रोतले जनाएको छ।