पर्सा १० कार्तिक । पर्साको पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले दशैंमा समेत तलब पाउन सकेका छैनन्। दीपावली र छठ पर्व नजिकिँदै गर्दा पनि लामो समयदेखि रोकिएको तलब भुक्तानीको टुङ्गो नलागेपछि कर्मचारीहरू आर्थिक समस्यामा परेका छन्।
लामो समयसम्म पारिश्रमिक नपाउँदा दैनिक खर्च व्यवस्थापन गर्न कठिन भएको कर्मचारीहरूले बताएका छन्। चाडपर्वका बेला समेत तलब नपाएपछि उनीहरूको चिन्ता थपिएको छ।

तलब भुक्तानीको माग गर्दै दशैंअघि नगरपालिकाका सफाइकर्मीहरूले आन्दोलनसमेत गरेका थिए। तलब नपाएको विरोधमा उनीहरूले दुईपटक सफाइ सेवा बन्द गरेका थिए। नगरपालिकाले दशैंअघि नै तलब उपलब्ध गराउने आश्वासन दिएपछि सफाइकर्मीहरू काममा फर्किएका थिए। तर दशैं बितिसक्दा पनि उनीहरूले पारिश्रमिक पाउन सकेका छैनन्।
नगरसभा नहुँदा तलब भुक्तानीमा समस्या

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न चौहानले नगरसभा हुन नसकेका कारण कर्मचारीको तलब भुक्तानीमा समस्या भएको बताएका छन्। उनका अनुसार नगरसभा सम्पन्न गर्ने तयारी भइरहेको भए पनि सभा बस्ने मिति भने अझै तय भएको छैन।
दीपावली र छठ पर्व नजिकिँदै गर्दा तलब कहिले भुक्तानी हुने भन्ने विषयमा स्पष्ट निर्णय नहुँदा कर्मचारीहरू अन्योलमा छन्। कर्मचारीहरूले चाडपर्वअघि नै बाँकी पारिश्रमिक उपलब्ध गराउन माग गर्दै आएका छन्।
स्थायी, करार कर्मचारी र शिक्षकको तलब बाँकी

नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको तीनदेखि चार महिनासम्मको तलब बाँकी रहेको बताइएको छ। नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले समेत त्रैमासिक तलब पाउन नसकेको जनाइएको छ।

करारमा नियुक्त कर्मचारीहरूको अवस्था झन् समस्याग्रस्त रहेको बताइएको छ। उनीहरूले एक वर्षदेखि तलब नपाएको दाबी गरेका छन्। लामो समयसम्म पारिश्रमिक नपाउँदा कर्मचारी तथा उनीहरूका परिवारको दैनिक जीवनयापनमा समेत असर परेको छ। कर्मचारीको सङ्ख्याबारे पनि प्रश्न
पोखरिया नगरपालिकामा स्वीकृत दरबन्दीभन्दा बाहिर कति कर्मचारी कार्यरत छन् भन्ने यकिन विवरणसमेत सार्वजनिक हुन सकेको छैन। सफाइकर्मी, नगर प्रहरी तथा प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीको वास्तविक सङ्ख्याबारे स्पष्ट तथ्याङ्क उपलब्ध नहुँदा नगरपालिकाको कर्मचारी व्यवस्थापनमाथि प्रश्न उठेको छ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक छानबिन तथा अनुगमन गर्दै कर्मचारीहरूको यकिन विवरण माग गरेको बताइएको छ। तर आवश्यक विवरण आयोगलाई समेत उपलब्ध गराउन नसकिएको जनाइएको छ।
कर्मचारीको नियुक्ति, दरबन्दी र अभिलेख व्यवस्थापनमा देखिएको अस्पष्टताले नगरपालिकाको प्रशासनिक पारदर्शितामाथि थप प्रश्न उठाएको छ।
तलब भुक्तानी र विवरण सार्वजनिक गर्न दबाब

चाडपर्व नजिकिँदै गर्दा कर्मचारीहरूको बाँकी पारिश्रमिक तत्काल भुक्तानी गर्न तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूको वास्तविक सङ्ख्या सार्वजनिक गर्न दबाब बढेको छ।
नगरसभा कहिले बस्ने, बजेटसम्बन्धी प्रक्रिया कसरी अघि बढ्ने र कर्मचारीले कहिलेसम्म तलब पाउने भन्ने विषयमा स्पष्ट निर्णय नहुँदा समस्या लम्बिँदै गएको छ।

नगरपालिकाले कर्मचारीको बाँकी पारिश्रमिक भुक्तानी, दरबन्दी तथा कर्मचारी विवरण सार्वजनिक गर्ने र प्रशासनिक व्यवस्थापनसम्बन्धी विषयलाई तत्काल टुङ्ग्याउनुपर्ने देखिएको छ।