फागुन १६ वीरगंज __दशकौँदेखि प्रभाव जमाएका मधेसवादी दलका नेताहरू आफ्नै आधार जोगाउन व्यस्त छन् । नयाँ राजनीतिक शक्तिहरू भने मतदाताका मन जित्ने प्रयासमा छन् । तालमेलभन्दा बढी व्यक्तिगत रणनीतिले चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । चर्को घामसँगै मधेसमा दलका उमेदवारका चर्का भाषणसँगै सरगर्मी झनै बढेको छ । त्यसो त, मधेसमा राजनीति गरेर खारिएका अनुभवी नेताहरू कडा प्रतिस्पर्धामा छन् । अनुभवी नेतासँगै वैकल्पिक दलका युवा उमेदवारका रूपमा अघि सर्दा कतै न कतै पुरानाले चुनौती महसुस गरेका छन् ।

मधेसको राजनीतिलाई नजिकबाट नियालेका खुशीलाल मण्डल पुरानालाई नयाँको चुनौती रहे पनि धेरै पुरानै नेताहरू आउन सक्ने बताउँछन् । उनी भन्छन्, “समानुपातिकतिर वैकल्पिक शक्तिलाई रोज्ने देखिन्छ । प्रत्यक्षतर्फ नयाँको ह्विम चले पनि पुरानैलाई जनताले रुचाएको देखिन्छ । मतदाताले व्यक्ति, उसको व्यवहार सबै हेरेर मतदानको निर्णय गर्नेछन् ।”

प्रमुख नेताहरू मैदानमा
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता महिन्द्रराय यादव चुनावी प्रतिस्पर्धामा छन् ।जसपा नेपालका अध्यक्ष यादव ‘समावेशी नेतृत्व, समृद्ध देश’ भन्ने नारासहित चुनावी मैदानमा होमिएका छन् । उनले पछिल्लो समय स्वायत्त अधिकारसहितको प्रदेश स्थापना हुनुपर्छ भन्ने धारणा व्यक्त गर्दै आएका छन् । यादव सप्तरी–३ बाट चुनावमा होमिएका छन् । अघिल्लो पटक सप्तरी–२ मा जनमतका अध्यक्ष राउतसँग पराजित भएपछि यादव सप्तरी–३ पुगेका हुन् ।

एकता देखिए पनि तालमेल अभाव
२०६४ पछि मधेसको धरातलमा उदाएका दलहरू टुटफुटको स्थितिबाट गुज्रे । उनीहरूबीच यसपालि चुनावी तालमेल भएको देखिँदैन । बरु आफू कसरी जोगिने र चुनावको नतिजा आफ्नो पक्षमा पार्ने भन्ने रणनीतिमा उमेदवारहरू उभिएका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी छाता चुनाव चिह्नसहित चुनावी मैदानमा छन् । उनी महोत्तरी–२ मा यतिबेला घरदैलोमा छन् ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि २०८२ को चुनावी मैदानमा छाता चुनाव चिह्नबाटै उमेदवार बनेका छन् । ‘सबके साथ, सबके विकास’ नाराका साथ उनी मैदानमा छन् । उनी नवलपरासी–१ मा चुनावमा होमिएका छन् । संचारकर्मी संग कुरा गर्दै उनले भने, “हामी चुनावअघि एक त भयौँ, तर एकले अर्कालाई सहयोग गर्न सकेका छैनौँ । मधेस प्रदेशबाहिर मेरो चुनावी क्षेत्र पर्‍यो । यसो हुँदा मधेसबाहिर नेताहरू आउन सक्नु भएको छैन । म आफ्नै तरिकाले चुनावी मैदानमा होमिएको छु । जनताको राम्रै प्रतिक्रिया छ ।”

जनमतमा आन्तरिक चुनौती
जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट चुनावी मैदानमा छन् । उनले जनताको अपूरो सपना पूरा गर्न जनमत पार्टीलाई जिताउन अपिल गर्दै आएका छन् । यसअघि पनि उनले त्यही क्षेत्रबाट चुनावी नतिजा आफ्नो पक्षमा पारेका थिए । तर, चुनावको मुखैमा जनमतका नेता–कार्यकर्ताले नेतृत्वप्रति मुख फेरेपछि राउतलाई ठूलो झड्का लागेको छ । राजनीतिमा परिवारवाद हावी भएको भन्दै जनमतबाट बाहिरिएका शरदसिंह यादव जनअधिकार पार्टीका उमेदवार बनेका छन् ।

राउतले आफ्नो प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, औद्योगिकीकरण, शान्ति तथा सुव्यवस्था, स्थानीय जनताको समस्याको समाधान, विगतका अधुरा योजनाहरू पूरा गर्ने/योजना कार्यान्वयन गर्नेलगायत विषय समेटेका छन् । प्रतिबद्धतापत्रमा भनिएको छ, “साक्षरता कार्यक्रम सञ्चालन गरी यस क्षेत्रलाई अविलम्ब साक्षर बनाइनेछ भने शिक्षाको स्तर उकास्न पनि पहल गर्नेछौँ । त्यसैगरी मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवाअन्तर्गत आमजनताको पहुँच स्वास्थ्य सेवासम्म सुनिश्चित गरिनेछ । यस क्षेत्रमा रहेका अस्पतालहरूको सेवा–प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउनेछौँ । सप्तरीलाई शिक्षा र स्वास्थ्यको हबका रूपमा विकास गर्नेछौँ ।”

त्यही क्षेत्रमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह स्वाभिमान पार्टीका उमेदवारका रूपमा चुनावमा होमिएका छन् । यो अवस्थामा जनमतका अध्यक्ष राउतलाई सप्तरी–२ मा आफ्नै साख जोगाउन हम्मे–हम्मे परेको छ । एउटै दलमा रहेका नेता तितरबितर हुँदा राउतलाई यसपटकको चुनावमा पहिलेको जस्तो सहज छैन । गत माघ ६ गते उमेदवारको मनोनयन दर्तापछि प्रचारमा सक्रिय जसपा अध्यक्ष यादव आफ्नै चुनावी सभामा व्यस्त थिए । तर, केही दिनयता मात्रै उनी जसपाको चुनाव चिह्नबाट लडेका मधेसकेन्द्रित दलका नेताको चुनावीसभामा हिँड्न थालेका छन् ।

यता, आफ्नो पक्षमा जनमत कमजोर भएको भान पाएपछि नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्नबाट राष्ट्रिय उन्मुक्ति पार्टीका अध्यक्ष महतो सर्लाही–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दशकौँदेखि मधेसको धरातलमा राजनीति गरेका महतोलाई पनि सहज छैन । अनुभवी नेताका रूपमा चिनिने महतोलाई नेकपाका महिन्द्ररायको चुनौती छ । महतो बारम्बार सरकारमा पुगे पनि मधेसी जनताको पक्षमा केही काम गर्न नसकेको जनताले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।यसअघिको चुनावमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सोही क्षेत्रमा उमेदवार बनेका महिन्द्ररायले जित हासिल गरेका थिए ।

वैकल्पिक राजनीतिको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसकेन्द्रित दलका नेताहरूलाई चुनौती दिइरहेको छ । ठूला भनिएका दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी पनि प्रभाव जमाउन तल्लीन छन् । मधेसमा लामो समयदेखि प्रभाव जमाइरहेका दलहरू जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई प्रत्यक्ष प्रतिस्पर्धामा ल्याएको छ ।

रास्वपाले विशेषगरी युवा, शिक्षित र वैदेशिक रोजगारीबाट फर्किएका मतदातालाई आकर्षित गरेको छ । मधेसका सहर र अर्धसहरी क्षेत्रमा यसले परम्परागत पहिचान–आधारित राजनीतिलाई चुनौती दिन थालेको छ । मण्डल भन्छन्, “परम्परागत मत अदल–बदल हुन सक्ने सम्भावना धेरै छ । यसकारण केही मत काटिन्छ ।” मधेसी दलहरूले पहिचान र अधिकारका मुद्दामा राजनीति गर्दै आएका छन् । मधेसी दलका नेताहरूका लागि वैकल्पिक पार्टी केवल नयाँ मात्र नभई राजनीतिक शैली, एजेन्डा र मतदाताको प्राथमिकतामा आएको परिवर्तनको संकेत रहेको छ ।