माघ ११ एजेन्सी___ दशकौँसम्म बीबीसीका लागि ‘भारतको आवाज’का रूपमा चिनिएका प्रसारक तथा वरिष्ठ पत्रकार सर मार्क टलीको ९० वर्षको उमेरमा निधन भएको छ। सर मार्क टलीको गहिरो, आत्मीय आवाज बेलायत र विश्वभरका बीबीसी दर्शक–श्रोताका लागि परिचित थियो। उनी अत्यन्त प्रशंसित विदेशी संवाददाता तथा भारतसम्बन्धी विश्वसनीय रिपोर्टर र विश्लेषकका रूपमा सम्मानित थिए। आफ्नो लामो पत्रकारिता यात्रामा उनले युद्ध, भोकमरी, दंगा, हत्या, भोपाल ग्यास त्रासदीदेखि लिएर भारतीय सेनाले स्वर्ण मन्दिर (गोल्डेन टेम्पल) मा गरेको कारबाहीसम्मका महत्त्वपूर्ण घटनाहरू कभर गरेका थिए। सन् १९९२ मा उत्तर भारतको सानो शहर अयोध्यामा रिपोर्टिङका क्रममा उनले ज्यानकै जोखिमपूर्ण अवस्था सामना गर्नुपरेको थियो। त्यही वर्ष हिन्दु कट्टरपन्थीहरूको ठूलो भिडले एक प्राचीन मस्जिद ध्वस्त पारेको घटना उनले प्रत्यक्ष देखेका थिए। बीबीसीप्रति शंकालु बनेको भिडका केही व्यक्तिले ‘मार्क टलीलाई मार’ भन्दै नारा लगाएका थिए। उनलाई केही घण्टासम्म एउटा कोठामा थुन्नुपरेको थियो। पछि एक स्थानीय अधिकारी र एक हिन्दु पुजारीको सहयोगमा उनी सुरक्षित हुन सकेका थिए।

उक्त मस्जिद विध्वंसपछि भारतमा दशकौँयताकै सबैभन्दा गम्भीर धार्मिक हिंसा फैलिएको थियो। सर मार्क टलीले पछि यस घटनालाई सन् १९४७ मा ब्रिटेनबाट भारत स्वतन्त्र भएयताकै धर्मनिरपेक्षतामाथिको ‘सबैभन्दा ठूलो आघात’ भनेर व्याख्या गरेका थिए। बीबीसी न्युज तथा करेन्ट अफेयर्सका अन्तरिम प्रमुख कार्यकारी अधिकृत जोनाथन मुनरोले विज्ञप्तिमार्फत सर मार्क टलीको निधनप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘सर मार्क टलीको निधनको खबरले हामी अत्यन्त दुःखी छौँ। विदेशी संवाददाताको पुस्तामा अग्रणी व्यक्तित्वका रूपमा उनले आफ्नो रिपोर्टिङमार्फत भारतलाई विश्वसामु चिनाए। भारतको जीवन्तता र विविधता बेलायत र विश्वभरका दर्शकमाझ पुर्‍याउन उनको भूमिका अतुलनीय छ।’

उनले थपेका छन्, ‘सार्वजनिक सेवाप्रतिको उनको प्रतिबद्धता र पत्रकारिताप्रतिको समर्पणका कारण उनी दिल्लीस्थित बीबीसी ब्युरो प्रमुख बनेर काम गरे र बीबीसीका विभिन्न माध्यमका लागि रिपोर्टिङ गरे। भारत र बेलायत दुवै देशमा व्यापक सम्मान पाएका उनीसँग संवाद गर्नु सधैँ सुखद अनुभव हुन्थ्यो। उनको निकै अभाव महसुस हुनेछ।’ सर मार्क टलीको जन्म भारतमै सन् १९३५ मा तत्कालीन कलकत्ता (हालको कोलकाता) मा भएको थियो। उनी ब्रिटिश शासनकाल (ब्रिटिश राज) का सन्तान थिए। उनका पिता व्यवसायी थिए भने उनकी आमा बंगालमै जन्मिएकी थिइन्। उनकी आमाको परिवार पुस्तौँदेखि भारतमा व्यापारी र प्रशासकका रूपमा कार्यरत थियो।

उनको बाल्यकाल एक अंग्रेज नानीको निगरानीमा बितेको थियो। एकपटक उनले परिवारका चालकलाई नक्कल गर्दै गन्न सिक्दा नानीले उनलाई ‘यो नोकरहरूको भाषा हो, तिम्रो होइन’ भन्दै गाली गरेको प्रसंग पनि चर्चित छ। यद्यपि पछि उनले हिन्दी भाषामा पूर्ण दक्षता हासिल गरे, जुन दिल्लीस्थित विदेशी पत्रकार वृत्तमा दुर्लभ मानिन्थ्यो। यही कारण धेरै भारतीयहरूका लागि उनी सधैँ ‘टली साहेब’ नै बने। भारतप्रतिको उनको आत्मीयता, सौहार्दपूर्ण व्यवहार र स्पष्ट प्रेमभावनाले देशका शीर्ष राजनीतिज्ञ, सम्पादक तथा सामाजिक अभियन्ताहरूको मित्रता र विश्वास जित्न सफल भएका थिए।