पौष १६ जनकपुरधाम ___मधेस प्रदेशमा करिब एक महिनादेखि अधुरो रहेको सरकार अन्ततः पूर्ण बनेको छ । यो संगै मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ ।

सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरूले बुधबार नै शपथ ग्रहण समेत गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा‍ सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले जनकपुरधाममा आयोजित कार्यक्रममा उनीहरूलाई शपथ गराएका हुन् । शपथ ग्रहण गर्ने मन्त्रीहरूमा जनता समाजवादी पार्टी (जसपा)बाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिष सुमन श्रम तथा यातायात मन्त्री रहेका छन्। नेपाली कांग्रेसबाट श्याम पटेल कृषि मन्त्री तथा शंकर चौधरी वन तथा वातावरण मन्त्रीको रूपमा शपथ लिएका छन्।

यसैगरी माओवादीबाट फकिरा महतो गृह र जनमत पार्टीबाट वसन्त कुशवाहा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भई शपथ ग्रहण गरेका छन्। शपथग्रहण समारोहमा मुख्यमन्त्री कृष्णा यादव, मन्त्रिपरिषद् सदस्यहरू, उच्च सरकारी अधिकारी तथा सत्तारुढ दलका नेताहरूको उपस्थिति रहेको थियो।