पौष ९ वीरगंज___पर्साको धुताहा खोलाको बगरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बिन्दवासिनी गाँउपालिका वडा नम्बर ५ प्रसौनीभाठास्थित धुतहा खोलाको बगरबाट मंगलबारराति सशस्त्र प्रहरीले ८ वटा ठूलो पोकामा रहेको १ सय २० केजी लागू औषध गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरी वल नेपाल नम्बर.१३ गण हेढ.क्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।

धुतहा खोलाको बगरमा सशस्त्र प्रहरीको टोली पुग्दा गाँजा बोकेर गइरहेका मान्छेहरु गाँजाको भारी छाडेर फरार भएकाले उनिहरुलाई भने पक्राउ गर्न नसकिएको योञ्जनले बताए । बरामद गाँजा आवश्यक कारबाहीका लागि बुधबार ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको जानकारी उनले दिए।

सशस्त्र प्रहरीका जिल्लाको विन्दवासिनी गाउँपालिका–५, प्रसौनिभाठास्थित धुतहा खोलाको किनारमा प्रहरीको टोली खटिएको थियो, सोही क्रममा टोलीले भारततर्फ लैजाँदै गरेको ८ वटा प्लाष्टिकको पोका फेला पारी उक्त गाँजा नियन्त्रणमा लिएको हो। उक्त अवस्थामा संलग्न व्यक्तिहरु भाग्न सफल भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।