पौष ९ काठमाडौँ ___ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आगामी आगामी राजनीतिक यात्रासँगै गर्ने समझदारी नजिक पुगेका छन् । धरौटीमा छुटे लगत्तै काठमाडौं केन्द्रित भेटघाटमा रहेका रविले अहिले राजनीतिक सहकार्य गर्न सकिने पात्रसँग निरन्तर छलफल तथा भेटघाट गरिरहेका छन् ।यसैक्रमम रविले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा मेयर साहलाई आफ्नो राजनीतिक सहयात्री बनाउने प्रयास गरिरहेका छन् । रविले यसै क्रममा यसपटकको चुनावमा रास्वपाबाट भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउने प्रस्ताव समेत गरेका छन् ।

बालेन र रविबीच समझदारी बने बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि बढाउन रवि तयार रहेको रास्वपाका एक नेताले बताए । लामिछानेले अझै सहकारी ठगी प्रकरणमा सफाइ नपाइसकेको अवस्थामा आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपयुक्त पात्रको खोजी गरिरहेका छन् । पछिल्लो समय मेयर बालेनको बढ्दो लोकप्रियता र जेनजी युवाको पनि बालेनलाई देशको प्रधानमन्त्री बनेको देख्न चाहेकाले रवि उक्त गृहकार्यमा सक्रिय ढंगले लागि रहेका छन् ।

आगामी चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोतको दाबी छ । पछिल्लो समय रास्वपाका शीर्ष नेताहरूले नै विभिन्न अन्तर्वार्ताहरूमा सहकार्य गरे रास्वपामा बालेनलाई प्रधानमन्त्री बनाउन तयार रहेको धारणा राख्दै आउनुले पनि रवि बालेनलाई आफ्नो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार रहेको पुष्टि हुन्छ ।

रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा मंगलबार साँझ भएको भेटमा पनि समझदारी अनुसार अघि बढे यसपटक रविले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने र अर्काे पटक रविलाई बालेनले सघाउने विषयमा छलफल भएको थियो । उनीहरुले करिब ७ घण्टा लामो वार्ता गरेर एउटै गाडीमा बाहिरिएका थिए । अहिले उनीहरू एउटै गाडीमा सँगै बसेको फोटो सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । जेनजी युवाहरू पनि उनीहरुलाई मिलेर गएको देख्न चाहन्छन् ।