पौष ८ काठमाडौँ ___नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ मा अवस्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर श्री गीतांजलि ब्रैंडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष श्री भुपाल पोखरेलले संयुक्त रुपमा गर्नुभयो ।

भारतीय दूतावासका अनुसार धुर्कोट गाउँपालिका–३ स्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग नेरु.३.८ करोडमा निर्माण हुँदैछ ।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै नयाँ पूर्वाधारमा फर्निचर, कक्षा कोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइनेछ र गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।  यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्तको रूपमा रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा बोल्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।