हनुमत कुमार यादव

पौष ७ रौतहट ___ एक सातादेखि निरन्तर चलिरहेको चिसो हावा र बाक्लो हुस्सुका कारण रौतहटसहित तराईका विभिन्न जिल्लामा चिसो अत्यधिक बढ्दै गएको छ । तापक्रम लगातार घट्दै जाँदा सर्वसाधारणको जनजीवन झनै कष्टकर बन्दै गएको छ ।
‎
‎बढ्दो चिसोले विशेषगरी स्कुलका स-साना बालबालिकालाई लगायत दैनिक ज्यालामजदुरी गर्ने श्रमिक, गरिब, असहाय, निमुखा तथा बृद्धबृद्धा नागरिकहरूलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । बिहान र साँझको समयमा बाक्लो हुस्सु लाग्ने भएकाले आवतजावतमा समेत समस्या देखिएको स्थानीयवासीहरूले बताएका छन् । चिसोका कारण काममा निस्कन नसक्दा मजदुर वर्गको दैनिकी थप कठिन बनेको छ ।
‎
‎यति बेला चिसोबाट बच्न आवश्यक तयारी र राहत व्यवस्थापनमा स्थानीय सरकार तथा सम्बन्धित निकायको सक्रिय भूमिका भने न्यून देखिएको छ । जनप्रतिनिधिहरूको ध्यानाकर्षण भए पनि प्रभावकारी पहल हुन नसकेको भन्दै स्थानीयवासीहरूले गुनासो गरेका छन् ।
‎
‎मानव जीवनको सुरक्षालाई मध्यनजर गर्दै यस्तो विपद्‌पूर्ण अवस्थामा तत्काल न्यानो लुगा वितरण, सार्वजनिक स्थल तथा चौक–चौकमा आगो ताप्ने व्यवस्था, साथै आवश्यक राहतका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता अत्यन्तै देखिएको छ । समयमै पहल नभए चिसोका कारण स्वास्थ्यसम्बन्धी समस्या थप बढ्न सक्ने भन्दै सरोकारवालाहरूले सम्बन्धित निकायलाई छिटो कदम चाल्न आग्रह गरेका छन् ।