पौष ५ काठमाडौँ ___ नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले आफ्नो पार्टीलाई बहुमत दिए देश सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपाली कम्युनिष्ट पार्टी जनताको चाहना र सपनालाई व्यवहारमा उतार्ने यात्रामा रहेको बताए। उनले निर्वाचनलाई पार्टीका लागि “अग्नि परीक्षा”को रूपमा व्याख्या गर्दै जनताले एकपटक बहुमत दिएर परीक्षण गर्ने अवसर दिन आग्रह गरे।

सहसंयोजक नेपालले बहुमत प्राप्त भए पार्टीले इमानदारिता, देशभक्ति र जनभावनालाई केन्द्रमा राखेर शासन सञ्चालन गर्ने दाबी गरे। “जनताले विश्वास गरेर जिताएपछि हाम्रो वास्तविक परीक्षा सुरु हुन्छ,” उनले भने, “हामी साँच्चै जनताको सपना पूरा गर्न सक्षम छौँ कि छैनौँ भन्ने कुरा व्यवहारबाट प्रमाणित हुनेछ।”

उनका अनुसार पार्टीले अहिलेसम्म इमानदार राजनीति, देशप्रेम र जनसेवाको मूल्यलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा पनि यही मार्गलाई निरन्तरता दिइनेछ।
सभामा उनले पार्टीमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै जेन–जी पुस्ता एकीकृत हुँदै पार्टीमा जोडिने क्रम तीव्र भएको जानकारी पनि दिए।