नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा एक महिना कटिसकेको छ । पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या कम हुँदै गएको छ । पिसिआर परीक्षणको संख्या पनि कम भइरहेको छ । सरकारले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाईका साथ पालना गर्न निरन्तर रुपमा आग्रह गरिरहेको छ । तर महिना दिनसम्म मानिसहरु घरभित्रै रहँदा पनि किन कोरोना संक्रमणको दर अपेक्षाकृत घट्न सकेन भन्ने विषयवस्तुलाई आधार बनाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीसँग गोरखापत्र अनलाइनका लागि विष्णु पाण्डेयले गर्नुभएको कुराकानीः

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या कम भएको देखिनु परीक्षण संख्या कम भएर हो वा वास्तवमै कोरोना नियन्त्रणमा आउँदैछ ?
तुलनात्मक रुपमा केही दिनयता संक्रमणको अनुपातमा केही कम छ तर संख्या जुन कम देखियो, त्यो भनेको संक्रमण त्यति मात्रै हो भन्ने होइन । त्यो भन्दा धेरै संक्रमण हुन सक्ने अरु हिसाबले देखिन्छ । आशंकामा रहनुभएका धेरै व्यक्तिहरु परीक्षणको दायरामा आउनुपर्छ । उहाँहरुको नमूना संकलन गर्न हामीले स्थानीय रुपमा सहजीकरण गर्न र गराउनुपर्छ । कोरोनाको शंका लागेमा बेलैमा परीक्षण गराउँदा थप कोरोना फैलन पाउँदैन । यदि हामी कोरोना संक्रमितको सम्पर्कमा छौँ भने पाँच, सात दिनपछि कोरोना परीक्षण गराउनुपर्दछ ।

निषेधाज्ञा लागू भएको एक महिनामा संक्रमण दर अपेक्षाकृत रुपमा किन घट्न सकेन ?
मानिसहरु भीडभाड हुने ठाउँमा, आवतजावत हुने ठाउँ र धेरै संक्रमण भएका जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । यसले संक्रमण विस्तारै घट्ने लक्षण देखाएको छ । यसको प्रभाव पर्ने समयावधि शुरु भएको छ । तर एकैचोटी शुन्यमा जाने अवस्था आउँदैन । निषेधाज्ञा कडा गरिएका ठाउँहरुमा ५९ प्रतिशत मात्र पालना भएको देखिन्छ । तर गाउँतिर आवत जावत हुने, भीडभाड हुने क्रम अहिले पनि कम भएको देखिन्न । मानिस शहरबजार आउने त्यसपछि गाउँ जाने तर क्वारेन्टाईनमा नबस्ने कारणले संक्रमण बढ्न सक्छ ।

अस्पतालमा बेड अभाव भैरहेको गुनासो आउने गरेका छन्, अहिले पनि बेडको अभाव छ र ?
कोभिड संक्रमितहरुको व्यवस्थापनका लागि अस्पतालमा बेडहरु, अक्सिजनलगायतका सामाग्रीहरु केही हप्ता अगाडि जुन अभाव थियो त्यो अहिले सुधार हुँदै आएको छ । अहिले हामीले बुझ्नुपर्ने कुरा के हो भने हामी महामरीमा छौँ, एकैचोटि धेरै व्यक्ति संक्रमित भैराख्नुभएको छ । स्वास्थ्य संस्थामा रात दिन खटेर केही स्वास्थ्यकर्मीको भरथेगले व्यवस्थापन भएकोमा अहिले पूर्वाधारहरु थप्दै लगे पनि उहाँहरुसँग कोभिडको उपचार छैन । कोभिडसँग लड्न आजसम्म चिकित्सा विज्ञानसँग उपचार छैन । त्यसैले हामी संक्रमणबाट जोगिएनौँ र संक्रमित भयौँ भने स्वास्थ्यकर्मीले केही गर्न सकिन्छ कि भनेर उपाय खोज्नुहुन्छ तर हाम्रो शरीर नै रोगसँग लड्न सक्ने अवस्थामा रहेन भने गाह्रो हुन्छ । त्यसैले हामी आम नेपालीलाई रोगबाट जोगिनको लागि आग्रह गरिरहेका छाँै ।

शहर भन्दा ग्रामीण भेगमा कोरोना के कारणले धेरै फैलिएको होला ?
अवश्य पनि ग्रामिण क्षेत्र वा शहरी क्षेत्र । जहाँ भए पनि हामी यो रोग नियन्त्रण गर्न सक्ने योद्धा हो भनेर सम्झनुपर्दछ । एकअर्कालाई संक्रमणको आशंकामा राखेर टाढा बस्ने कुराहरुमा हामी सजग हुनैपर्छ । हातको सरसफाई गर्ने कुराहरु, मुख र नाकमा हात लगिरहन् बानी, हामी आफैँले सुधार गर्दै लाने कुराहरु हुन् । जहाँ पायो त्यँही भित्ताहरुमा छुने, फेरि नाक, मुखमा छुने ग¥र्यौं भने कोरोनाको जोखिम झन् बढ्छ । त्यसैले यसलाई हामीले सुधार्नु पर्दछ । भीडभाड बन्द गर्ने, निरुत्साहित गर्ने, मानिसलाई सुुसुचित गर्ने , संक्रमणको जोखिमका बारेमा बुझाउने कुरामा स्थानीय तहहरुले, स्थानीय स्वास्थ्यकर्मीहरुले, सञ्चार माध्यमबाट पनि बुझाउने कामहरु भैरहेका छन् । यो नै सबैभन्दा बढी प्रभावकारी उपाय हो । त्यसभन्दा बाहेक हामी कुनै गाउँ, टोलमा छौँ र हामी संक्रमित छैनौँ भने कोही व्यक्ति बाहिर गएर आउनुहुन्छ भने अनिवार्य रुपमा स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्ने, क्वारेन्टिनमा दश दिन बस्ने, बसाउने ग¥र्यौं भने हामीकहाँ संक्रमण आईपुग्दैन । हामीले संक्रमण अरुलाई फैलाउने सम्भावना हँुदैन । ग्रामीण क्षेत्रमा संक्रमण बढ्नु भनेको विडम्बनाको कुरा हो । अहिले स्थानीय स्तरमा आवश्यक पूर्वाधारको कमी र भएका पूर्वाधारहरु पनि कोरोनालाई थेग्न त्यति धेरै सक्षम छैनन् ।

चर्काे मूल्यमा उपचार गराइरहेका निजी मेडिकल कलेजहरुका निगरानी र कारबाही कतिको भैरहेको छ ?
अहिले महामारीको बेला हो, अहिले कमाउने, कसैलाई समस्यामाा पार्ने बेला होइन । हामीले सेवा भावले काम गर्नुपर्दछ । अहिलेको बेला, अहिलेको यो कोभिड विरुद्धको युद्ध भनेको सबैका लागि हो । कुनै पेशा गर्नेका लागि कमाउने बेला होइन । हामी सबैका लागि दुःखको बेला हो । हामीले आफ्नो पेशागत धर्म नछोडिकन कार्य गर्नुपर्छ र महामारीमा एकले अर्कोलाई सहयोग गर्न सक्ने खालको वातावरण बनोस् भनेर स्वास्थ्य मन्त्रालयले सम्बन्धित निकायहरुसँग अनुरोध पनि गरिराखेको छ । कँहिकतै यस बावजुद पनि कसैले त्यस्तो बदमासी गरेको, गलत गरेको भेटियो भने हामीले राज्यका विभिन्न अंगहरु र निकायहरुलाई सो विषयमा निगरानी गर्न अनुरोध गरिराखेका छौँ । स्थानीय रुपमा रहेका प्रशासनहरुले यसको अनुगमन तिब्र रुपमा गरिरहनुभएको छ । स्थानीय स्वास्थ्यका पदाधिकारीहरुले पनि यसको अनुगमन गरिरहनुभएको छ । स्वास्थ्य मन्त्रालयले यसलाई नजिकबाट हेरिरहेको छ । यदि जो कोहीले यस्तो भेट्नु भएमा नजिकको प्रशासन वा स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएका हटलाईनहरुमा लिखित वा मौखिक रुपमा यस्ता उजुरीहरु दिन सक्नुहुन्छ । हामीले गलत पाएमा ती अस्पताललाई कारबाहीको प्रक्रियामा अगाडि बढाउछौँ ।

केही स्थानीय तहहरुले आफैँ खोप किन्नको लागि मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ । के यो सम्भव छ ?
खोप जस्तो विषय स्थानीय तहहरुले ल्याएर अभियान सञ्चालन गर्नसक्ने खालको हाम्रो देशको क्षमता बन्न सक्यो भने त्यो अत्यन्त राम्रो ,प्रशंसनीय र ठूलो काम हुन्छ । तर अहिले हामीलाई समग्र देशको अवस्था थाहा छ । स्थानीय तहका क्षमता पनि थाहा छ । खोपको अहिले आपूर्ति र मागको ठूलो खाडल छ जुन हामी सबैले देखेकै छौँ । सरकारका उच्च ओहोदामा रहेका व्यक्तिहरुले पहल गरिरहँदा र स्वास्थ्य मन्त्रालयको प्राविधिक सबै लागेर प्राविधिक तयारीहरु गर्दा पनि सम्भव नभएको विषयवस्तुहरु स्थानीय तहहरुबाट सम्भव हुन्छ भन्ने कुराहरु हामीले भन्न सक्दैनौँ र त्यो अहिले विश्वास गर्न सकिन्न । तर जेजस्तो क्षमता छ त्यसमा पनि हामी गछौँ भनेर लाग्नु, त्यसअनुसार उहाँहरुले दवाव दिने प्रशंसनीय कार्य हो । तर आर्थिक, प्राविधिक र सामाजिक हिसाबले मिल्दैन । एउटा स्थानीय तहले भ्याक्सिन किन्ने अर्को स्थानीय तहको मानिसले भ्याक्सिन लगाउन नपाउने, यो त सम्भव हुँदैन नै, व्यवहारिक पनि हुँदैन । सबै स्थानीय तहहरुले खोप किनेर लगाउनका लागि त्यति धेरै प्रभावकारी, व्यवहारिक र प्राविधिक हिसाबले पनि सबल र सक्षम देख्दैनौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय