संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन १९७३ देखि हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा विश्वभर मनाइँदै आइएको छ । वातावरण संरक्षणमा स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा विश्वस्तरमा देखिएका समस्या, सम्भावना तथा चुनौतीका बारेमा छलफल, बहस र विचार आदान–प्रदान गरी समाधानका उपाय खोज्ने अभियान हो– विश्व वातावरण दिवस ।

यस वर्षको विश्व वातावरण दिवसको प्रमुख विषय ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ रहेको छ । विश्व वातावरण दिवसकै दिन पारेर आज संयुक्त राष्ट्रसङ्घीय पारिस्थिकीय प्रणाली पुनःस्थापना दशक (२०२१–२०३०) को पनि औपचारिक सुरूवात भएको छ । क्षतिग्रस्त प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि यो अर्को नयाँ र दीर्घकालीन महŒवको अभियान हो । सन् २०२१ को वातावरण दिवसमा संयुक्त राष्ट्रसङ्घीय पारिस्थिकीय प्रणाली पुनःस्थापना दशकको सन्देशले प्राकृतिक पुनःस्थापनाको अभियानमा सरिक हुन र कोभिड महामारीबाट थलिएको आर्थिक तथा सामाजिक प्रक्रियालाई हरित उत्थानको माध्यमबाट पुनर्जीवन दिन ऊर्जा प्रदान गर्नेछ ।
विगतमा जुन सोच र कार्यका साथ अगाडि बढ्दै गर्दा हालका वातावरणीय समस्या आए, आगामी दिनमा उही सोच र उस्तै कार्यलाई निरन्तरता दिने हो भने समाधान सम्भव छैन । वातावरणप्रतिको विद्यमान मानवीय उदासिनता भत्काउने, प्राकृतिक प्रणालीको महŒवका बारेमा नयाँ शिराबाट बुझ्ने र बुझाउने, प्रकृतिसँग आफ्ना कामको तालमेल मिलाउँदै नयाँ सोच र नयाँ सिर्जनाका साथ प्राकृतिक प्रणाली पुनःस्थापनाबाट मात्र सम्भव छ । यस कार्यमा प्रभावित व्यक्ति, समुदाय, तिनै तहका सरकारी तथा गैरसरकारी संस्थाको उत्तिकै महŒवपूर्ण भूमिका हुनेछ ।

हामी सबैले यो बुझ्नु जरूरी छ कि स्वच्छ वातावरण भएमा मात्र यस धर्तीमा मर्यादित मानव जीवन सम्भव छ । जसरी मानव जीवनका लागि स्वच्छ वातावरणमा जिउने हक हुन्छ, त्यसैगरी पशुपक्षी तथा वनस्पतिको पनि खुलेर जिउने हक हुनुपर्छ । नदीमा रहने माछालाई स्वच्छ पानीमा रहने हक हुनुपर्छ । मानिसका लागि मात्र यसप्रकारको हक तथा स्वतन्त्रता एकल तथा निरपेक्ष रूपमा प्राप्त हुन सक्दैन । सम्भव पनि छैन । तसर्थ, मानिसको प्रकृतिप्रति अथाह कर्तव्य छ । प्रकृतिप्रतिको यही कर्तव्य र जिम्मेवारी निर्वाह सकेमा मात्र स्वच्छ वातावरणमा बाँच्न पाउने मानवीय हकको सिर्जना हुन पुग्दछ । प्रकृति र मानिसवीच गहिरो तथा अटुट सम्वन्ध दिगो हुन सक्छ । हाल प्रकृतिमाथि मानवीय क्रियाकलाप अविवेकी ढङ्गबाट हाबी भएको र थेग्नै नसक्नेगरी भार थपिदिएका कारण मानिसले स्वच्छ वातावरणमा बाँच्न पाउने हक गुमाएको र प्रकृतिसँगको मानवीय सम्बन्ध प्रभावित हुन पुगेको अवस्था छ । प्राकृतिक प्रणाली र मानवीय क्रियाकलाप आपसी लाभ र जित–जितको अवस्थामा हुनुपर्नेमा अन्यथा भएको छ । मानव जीवनका अनेकौँ पहलुमा बर्बादीका निशान चिह्न देखिएका छन्, प्राकृतिक प्रणालीमा समेत प्रतिकूल प्रभाव परेको छ । हार–हारको दुष्चक्रमा फसेको अवस्था छ । फलस्वरूप विश्वव्यापी जलवायु परिवर्तन, प्रजाति विनाश, वातावरणीय प्रदूषणलगायतका प्रतिकूल परिस्थितिको सामना गरिराख्नुपरेको छ । हाल विश्वभरि फैलिएको कोभिड महामारीले यो दुष्चक्रलाई झनै खतरनाक स्थितिमा पु¥याएको छ ।

विद्यमान प्रतिकूल परिस्थितिको सामना गरी उल्लिखित दुष्परिणामबाट बच्न र हाम्रा वरिपरिका प्राकृतिक प्रणाली पुनःस्थापना गर्न सकिएला ? हामी यस प्रश्नको उत्तरमा प्रस्ट हुन जरूरी छ । सन् १९६८ मा साइन्स जर्नलमा गारेट हार्डिनले ट्राजिडी अफ कमन्स शीर्षकमा एक प्रख्यात लेख लेखेका थिए । उनको मुख्य भनाइ के थियो भने अन्य कसैले मूल्य चुकाउनेगरी सार्वजनिक प्राकृतिक स्रोतको उपयोग गर्दा अन्ततः स्रोत नै रुग्न अवस्थामा जाने, उत्पादन र उत्पादकत्व घट्ने र अन्ततः उक्त प्राकृतिक स्रोत र आश्रित व्यक्ति तथा समुदाय दुवै बर्बादीतर्फ जाने निश्चित हुन्छ । पाँच दशक अगाडि प्रतिपादित यो विचार आजपर्यन्त सार्थक र हाम्रो परिवेशमा पनि ठिक्क मिल्ने देखिन्छ । हाम्रो सहरी क्षेत्र र राष्ट्रिय राजमार्ग आसपासका अधिकांश प्राकृतिक स्रोतहरूको अवस्था हेर्ने हो भने ठ्याक्कै त्यस्तै अवस्थाबाट गुज्रिराखेको देखिन्छ । खासगरी पानीका स्रोत, खोलानाला, नदी, तालको अवस्था हेर्दा तँछाडमछाडकै रूपमा आफूले भरपूर उपयोग गर्ने, उपयोग गर्न नसके फोहोरको भारी बोकाएर छाडिदिने प्रवृत्ति देखिएको छ । उपयोग गर्न र भारी बोकाउन उछिनपाछिन गर्ने तर संरक्षणका लागि सिन्का नभाँच्ने प्रवृत्तिले स्वाभाविक प्राकृतिक प्रक्रिया र हाम्रो समाजलाई नै बर्बादीतर्फ धकेलिराखेको छ ।

सरकारी बजेट खर्च गरेर हिउँदका महिनामा पहाडका भित्तामा विनाअध्ययन डोजर लगाउने, नदी दोहन गर्ने र वर्षायाममा बाढीपहिरोजस्ता विपद्जन्य घटना बेहोर्नुपर्ने बानी नै परिराखेको छ । वातावरणीय, प्राविधिक, आर्थिक तथा सामाजिक अध्ययनविना गरिने कार्यले ‘तत्कालीन प्रगति दीर्घकालीन क्षति’ उक्तिलाई चरितार्थ गराएको छ । प्रकृति अन्तहीन र सीमाविहीन त छैन । मानिस प्राकृतिक रूपमा प्राथमिक उत्पादक पनि होइन । साँच्चै भनौँ भने मानिसले आफ्ना सन्तान उत्पादन गर्नेबाहेक अन्य केही पनि चीज वस्तु उत्पादन गर्न सक्दैन । प्राथमिक उत्पादनका रूपमा बोट, वृक्ष, वनस्पति र सहायक उत्पादकका रूपमा जनावरमाथि परनिर्भर छ । तर पनि मानिस आफैँ प्रमुख उत्पादक भएजसरी प्राकृतिक प्रणालीमाथि हाबी भइराखेको छ । परिणामतः सहर र राजमार्गवरिपरिका सार्वजनिक क्षेत्र, पोखरी, खोला तथा नदीको अवस्था क्षतविक्षत र मृतप्रायः भएका छन् । तर पनि अधिक दोहन र भार थपिनेक्रम रोकिनुको सट्टा बढेको बढ्यै छ ।

जुनसुकै पनि पारिस्थिकीय प्रणालीको अधिक दोहन वा क्षमताभन्दा बढी भार बोकाइयो भने उक्त प्रणालीमा विचलन आउने निश्चित छ । यस किसिमको विचलनबाट पारिस्थिकीय प्रणालीका अन्तरसम्बन्धित अवयव प्रभावित हुन गई प्रजाति विनाशका साथै अन्ततः पारिस्थिकीय प्रणाली नै मृत अवस्थामा पुग्न सक्छ । स्वचालित प्राकृतिक प्रणाली नै नष्ट हुन पुग्छ । काठमाडौँ उपत्यकाका पवित्र नदीहरू यसैकारणबाट मृत नदीमा परिणत भएका हुन् । हाम्रो सनातन सभ्यतासँग जोडिएका नदी प्रणाली मृत हुँदा हाम्रो सभ्यता, मूल्य–मान्यतामा समेत विचलन ल्याइदिएको छ । हाम्रो संस्कृतिमा विचलन ल्याइदिएको छ । जलवायु परिवर्तन करिब पुरानै ब्रान्डको भयानक पीडाका रूपमा विद्यमान थियो नै । कोभिड महामारीको अर्को महापीडा थपिएको छ । नयाँ–नयाँ प्रकारका रोग देखिँदै गएका र मानिसमा विद्यमान स्वाभाविक प्राकृतिक रोग प्रतिरोधी शक्तिसमेत कमजोर हुँदै गएको विश्वास गरिएको छ । कसले होइन भन्न सक्ला र कोभिडजस्ता महामारीसमेत यस्तै किसिमका स्वेच्छाचारी प्रवृत्तिबाट जन्मिएका हुन् ।

यस किसिमको दुष्चक्रबाट बाहिर निस्किनका लागि कस्ता काम, कहाँबाट र कसरी सुरू गर्ने त ? खासगरी दुई भिन्नप्रकारका तर अन्तरसम्बन्धित उपचार देखिएका छन् । जुन साथसाथै गर्नुपर्नेछ । एकको अभावमा अर्को उपचारबाट समस्या समाधान हुने छैन । पहिलो, वातावरण संरक्षणप्रति व्यक्तिगत, सामुदायिक तथा संस्थागत तहमा आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्ने, तत्पश्चात्मात्र अधिकार खोज्ने । जानी–बुझीकन प्राकृतिक प्रणालीमाथि कर्तव्यविहीन अधिकारको प्रयोग गर्नु, गर्न खोज्नु अराजकता, स्वेच्छाचारी र परपीडक प्रवृत्ति हो । समुदाय–समुदायमा स्वनियमनका स्वचालित प्रक्रिया स्थापना तथा सञ्चालन गर्ने । समुदायस्तरमा आपसी सहमतिमा दण्ड जरिवानाको परिपाटी स्थापना र सञ्चालन गर्ने । दोस्रो, क्षतिग्रस्त र प्रदूषित अवस्थाबाट गुज्रिराखेका हाम्रा सहरी क्षेत्र र राजमार्गवरिपरिका सरकारी वन, सार्वजनिक जग्गा, पोखरी, खोला, नदीजस्ता प्राकृतिक स्रोतमा सामुदायिक स्तरबाटै विभिन्न उपचारात्मक कार्य गर्ने । सार्वजनिक जग्गा संरक्षण, हरियाली स्थापना, पानीका मुहान तथा खोला नदीहरू सफाई, विगतका फोहर संकलन र सुरक्षित विसर्जन अभियानजस्ता कार्य यस उपचारअन्तर्गत पर्छन् । बागमती सफाइ अभियान पनि यसैकिसिमको एक उपचार अभियान मान्न सकिन्छ । तर, पहिलो उपचार अभियानको अभावमा दोस्रो उपचारले मात्र बागमती सफाइ अभियानले जति सफलता पाउनुपर्ने हो, त्यति पाएको देखिँदैन ।

यी दुवैप्रकारका उपचार नीतिगत तथा कानुनी मान्यतासहित अभियानकै रूपमा सञ्चालन गरेर नेपालका क्षतिग्रस्त वनक्षेत्र सामुदायिक वन प्रक्रियामार्फत पुनःस्थापना गर्न सकिएको छ । हरियाली पुनःप्राप्ति भएको छ । नीति तथा कानुनद्वारा संरक्षित सामुदायिक स्वनियमनका स्वचालित प्रक्रियाले आफ्ना समस्या आफँै पहिचान गरी समुदायस्तरमै समाधान गर्न सिकाएको छ । प्रभावित व्यक्ति र समुदाय नै पुनःस्थापनाका आधिकारिक र भरपर्दा खेलाडी हुन भन्ने स्पष्ट देखाइदिएको छ । यसले प्राकृतिक प्रणालीको पुनःस्थापनाका साथै सहभागी समुदायको सामाजिक रूपान्तरण र क्षमता अभिवृद्धिसमेत गराइदिएको छ । नेपालको वनक्षेत्रमा यो प्रमाणित भइसक्यो । नीतिगत तथा कानुनी व्यवस्थामार्फत स्वनियमनको अधिकार पाएको अवस्थामा समुदायले टोल–टोल र बस्ती–बस्तीमा नयाँ र सिर्जनशील विचारका साथ आफ्नो कर्तव्य निर्वाह सक्छन् । यसबाट समुदायको रूपान्तरण, प्रकृतिमैत्री पुनःस्थापना र व्यवस्थापन सम्भव छ । यस्ता अभियानले छरिएर रहेका हालसम्म प्राप्त सफलतालाई उत्सवका रूपमा मनाउन र संरक्षणका चुनौतीलाई सामना गर्न सरकार, समुदाय, सरकारी तथा गैरसरकारी संस्थालाई आ–आफ्नो तहबाट भूमिका खेल्न प्रेरणा प्रदान गर्छ । सबै सरोकारवालाले यसतर्फ छलफल बहस गरी दिगो संरक्षण तथा व्यवस्थापनका लागि एकमत भएर कार्यान्वयनमा जानुको विकल्प छैन । पारिस्थिकीय प्रणालीप्रति मानवीय व्यवहार मर्यादित, स्वच्छ र सही हुन आवश्यक छ । जलवायु परिवर्तनका प्रतिकूल प्रभावको सामना, कोभिड महामारीबाट बच्दै प्रकृतिमैत्री पुनःस्थापना गर्नसमेत टेवा पुग्ने निश्चित छ । विश्व वातावरण दिवसको उपलक्ष्यमा यही सन्देश फैलाऔँ र यस कार्यमा सहभागी बनौँ । 

(लेखक वन तथा वातावरण मन्त्रालयका सहसचिव हुनुहुन्छ ।) 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय