काठमाडौँ  । नेपालबाट पाँच वर्षमा ११ वटा छुद्र ग्रह पत्ता लगाइएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले सन् २०१६ देखि गर्दै आएको खोजबाट पत्ता लागेका ती छुद्र ग्रहले अस्थायी नामसहित मान्यता पाएका छन् । हालसम्म १ हजार १ सय ९४ वटा छुद्र ग्रहको प्रारम्भिक पहिचान भए पनि ११ वटाले ‘प्रोभिजन डिस्कभरी स्टाटस’ पाएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

नासोले पहिचान गरेका ११ वटा छुद्र ग्रहमध्ये एउटा ‘नियर अर्थ एस्टोरोइड’ को नाम ‘२०१९–केके ५’ दिइएको छ । ‘अन्य १० वटा मेन बेल्ट एस्टोरोइड हुन्,’ भट्टराईले भने, ‘पृथ्वीदेखि ३० मिलियन माइल नजिक देखिने आकाशीय पिण्डहरूलाई नियर अर्थ अब्जेक्ट भनिन्छ ।’ नासोले छुद्र ग्रह दिवस (जुन ३०) को अवसर पारेर बुधबार तथ्यांक सार्वजनिक गरेको हो । भट्टराईका अनुसार नागरिक वैज्ञानिक अवधारणाअनुसार विश्वका हरेक मुलुकमा छुद्र ग्रह खोज्ने अभियान सञ्चालन गरिन्छ । इन्टरनेसनल एस्ट्रोनोमिकल सर्ज कोलाबोरेसन (आईएएससी) सँगको सहकार्यमा हरेक वर्ष यो अभियान सञ्चालन हुने गरेको छ । अमेरिकाको हवाईस्थित पाम–स्टार्स टेलिस्कोपले अन्तरिक्षमा खिचेको तस्बिरका तथ्यांकहरू निश्चित सर्भरमा राखिएका हुन्छन् । अभियानमा संलग्नहरूलाई उक्त सर्भरमा पहुँच दिइन्छ । एस्ट्रोमेट्रिका नामक सफ्टवेयरको प्रयोग गरेर टेलिस्कोपले खिचेका तस्बिरहरूबाट घुमिरहेको वस्तु खोजिन्छ ।

अभियानमा सहभागीले छुद्र ग्रह भेटेको बताएपछि त्यसलाई प्रमाणीकरणका लागि अमेरिका पठाइने नासोका अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले प्रमाणित गरेपछि उक्त छुद्र ग्रहको ‘प्रिलिमिनेरी’ (प्रारम्भिक) अवस्था हुन्छ ।

युनियनले त्यसपछि पुनः प्रमाणीकरणका लागि अन्य विभिन्न टेलिस्कोपमार्फत खोज तथा आफू मातहतका कार्यालयलाई सर्कुलेसन गर्छ । अन्य स्थानबाट पनि उक्त छुद्र ग्रह देखिए त्यसलाई ‘प्रोभिजनल’ स्टाटस दिइन्छ । त्यसपछि उक्त छुद्र ग्रहको अध्ययन गरिन्छ ।

नेपालमा सन् २०१८ डिसेम्बरदेखि जनवरी २०१९ सम्ममा २ वटा छुद्र ग्रह पत्ता लागेका थिए । जोरपाटीको द सेलिब्रेसन कोएड स्कुलमा कक्षा ९ अध्ययनरत ५ विद्यार्थीले पत्ता लगाएको छुद्र ग्रहको नाम ‘२०१८–वाईएस४’ राखिएको थियो । यस्तै, सानोठिमीमा कक्षा १२ मा अध्ययनरत ४ विद्यार्थीले पत्ता लगाएको छुद्र ग्रहको नाम ‘२०१९–एई१८’ दिइएको थियो । २०१९ को अप्रिलदेखि मेसम्म चलेको अभियानमा ११ वर्षीय ध्रुब व्यास जोशीले २०१९ जेपी ६० नामक छुद्र ग्रह पत्ता लगाए ।

२०१९ कै मे २७ देखि जुन २१ को अभियानमा ४ वटा छुद्र ग्रह पत्ता लागेको थियो । त्यति बेला अमृत साइन्स कलेजमा अध्ययनरत रेजा थापा र नासोकी मिनषा द्वाले पत्ता लगाएको छुद्र ग्रहलाई ‘२०१९–केबी१५’ दिइएको छ । नासोकै अध्यक्ष भट्टराई र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजीमा अध्ययनरत सुशान्त द्वाले २०१९–केके१८ पत्ता लगाए । २०१९–केडब्लू९ चितवनका नीरज लामिछाने चितवन र अध्यक्ष भट्टराईले पत्ता लगाएका हुन् । २०१९–केके५ चाहिँ विज्ञान शिक्षक समाज पोखरा च्याप्टरकी जानकी कुमारी छन्त्याल र नासोकी मनीषा द्वाले पत्ता लगाएका थियो ।

नेपालबाट सन् २०२० मा २०२०–एफ०११, २०२०–एचके३४, २०२०–एचटी४९ र २०२०–पीजी१५ नाम गरेका छुद्र ग्रह पत्ता लागेका हुन् । तीमध्ये २०२०– एफ ०११, २०२०–एचके३४ र २०२०–पीजी१५ मेन बेल्ट एस्टोरोइड रहेको पत्ता लागे पनि एजटी४९ को पहिचान हुन सकेको छैन । यी सबै छुद्र ग्रह उच्च मावि र विश्वविद्यालयका विद्यार्थीले पत्ता लगाएका हुन् । यो खोज अभियानमा ११ वर्षदेखि माथिको उमेर समूहका २ हजार ३ सय ४० जना विद्यार्थी सामेल भइसकेका छन् ।

के हो छुद्र ग्रह ?

ग्रह बन्न नसकेका आकाशीय पिण्डहरूलाई छुद्र ग्रहका रूपमा लिने गरिन्छ । सौर्यमण्डलमा धेरै आकाशीय पिण्ड छन् र तिनले पनि सूर्यलाई परिक्रमा गर्छन् । अन्तरिक्षमा ५ सय किलोमिटरभन्दा बढी व्यास भएका छुद्र ग्रह ३ वटा रेकर्ड गरिएको छ । यस्तै सय किलोमिटर व्यासका करिब २ सय वटा, ५ किलोमिटरसम्मका ९० हजार, ३ किलोमिटरसम्मका २ लाखभन्दा बढी छुद्र ग्रह सौर्य मण्डलमा घुमिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् । मंगल ग्रहदेखि र बृहस्पतिसम्मको खाली भागमा सूर्यलाई परिक्रमा गर्ने धूलो, कण, छुद्र ग्रह, ढुंगालगायतका वस्तु धेरै छन् ।

सानो आकारका ‘एस्टोरोइड’ हरू पृथ्वीतिर आइरहेका हुन्छन् । त्यस्ता वस्तु वायुमण्डलको माथिल्लो सतहमा बिलाउँछन् । यदाकदा केही आकाशीय टुक्रा भने खस्ने गरेका छन् । यस्ता पिण्ड र कणले पृथ्वीको तौल बढिरहेको भौतिकशास्त्रीहरू बताउँछन् । स–साना पिण्ड वायुमण्डलसँगको घर्षणबाट उत्पन्न हुने तापका कारण त्यत्तिकै बिलाउने गरेको भट्टराईले बताए । यस्ता बिलाएर जाने पिण्डलाई तारा खसेको भन्ने गरिन्छ ।

एक सय किलोमिटरभन्दा बढी व्यास भएका एस्टोरोइडको भित्री भाग फलामभन्दा कडा वस्तु, बीच भागमा आइस (विभिन्न ग्यासको आइस), सतहमा कार्बन हुने गरेको छ । ठूला छुद्र ग्रहको सतहमा एमिनो एसिड पनि भेटिने गरेको भौतिकशास्त्रीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय