उदयपुर । विभिन्न औषधि मिसाएर लागूऔषध बनाइ बिक्री गर्ने चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारको एक फार्मेसी सिल गरिएको छ । औषधि व्यावस्थापन विभाग विराटनगरको टोलीले बिहीबार गोपीकृष्ण मेडिकल सिल गरेको हो ।

विभागको टोलीले अनुगमन गर्ने क्रममा विभिन्न औषधि मिसाएर बिक्री वितरण गरेको भेटिएपछि मेडिकल सिल गरिएको छ । विरेन्द्र झाले सञ्चालन गरेको फार्मेसीबाट लागूऔषधसँग सम्बन्धी विभिन्न औषधि मिसाएर बिक्री वितरण गरेको फेला परेको विभागका प्रमुख सञ्जिव कटेलले बताए । झा औषधि व्यवसायी संघ उदयपुरका महासचिव हुन् ।

विभागको टोलीले बिहीबार चौदण्डिगढी र बेलका नगरपालिकाका औषधि पसलमा अनुगमन गरेको हो । ‘अनुगमनको क्रममा झाले ट्रामाडोल, डिसाइक्लोमिन र प्रेगावालिन औषधि मिसाएर लागूऔषध बनाउने र बिक्री वितरण गर्ने भेटियो,’ विभागका प्रमुख कटेलले भने, ‘यसरी बनाएको औषधि सेवन गर्दा लामो समयसम्म नसा दिने, झुमझुम भइरहने, एकोहोरिने जस्ता लक्षण देखिन्छ ।’ विभिन्न थरीका औषधि मिसाएर लागूऔषध बनाइ १५/१६ वर्ष उमेरका किशोरलाई बिक्री गरेको भन्ने उजुरी परेकाले छड्के जाँच गर्दा पुष्टि भएको उनले बताए ।

झालाई एक वर्षअघि पनि विभागले यस्तै घटनामा पक्राउ गरी २५ दिन कारबाही गरी छाडेको थियो । पुन: दोहोरिएकाले औषधि ऐन २०३५ अनुसार थप हदैसम्मको कारबाही गरिने प्रमुख कटेलले बताए । टोलीले उनको फार्मेसी सिल गरी पाँच दिनभित्र विभागमा हाजिर हुने गरी पत्राचार गरेको छ ।

टोलीले बिहीबार नै बिना इजाजत, तोकिएको जनशक्तिबेगर र मापदण्ड विपरीत सञ्चालन गरिएका थप आधा दर्जन औषधि पसल सिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय