पर्सा । पकहामैनपुर गाउँपालिका–५ सबैठवामा रहेको ब्रहमस्थान मर्मत तथा निर्माण कार्यमा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको छ। स्थानीयवासीहरूले गाउँपालिका अध्यक्ष सुरेश मेहतामाथि भ्रष्टाचार र मिलेमतोको खेलमा संलग्न भएको भन्दै तीव्र आपत्ति जनाएका छन्।
अध्यक्ष मेहताले सो कार्यका लागि करिब २० लाख रुपैयाँ बजेट विनियोजन गरी उपभोक्ता समितिको नाममा योजना ल्याए पनि व्यवहारमा भने ठेकदारलाई काम दिने जिम्मा दिएका थिए। ठेकदार रामनाथ कुशवाहाले ईन्जिनियर र अध्यक्षको मिलेमतोमा काम अधुरै छोडी रकम हिनामिना गरेको स्थानीयहरूको आरोप छ।
स्थानियहरूको भनाइअनुसार ब्रहमस्थानको मर्मत कार्य नाममात्रको मात्रै भएको र देखावटी प्रगति देखाएर सम्पूर्ण रकम हजम गरिएको छ। उनीहरू भन्छन्, “सम्पूर्ण काम अधुरै छ, तर कागजमा सम्पन्न देखाइएको छ। यो योजनामा अध्यक्ष, ठेकदार र ईन्जिनियरबीच स्पष्ट मिलेमतो देखिन्छ।”
अनियमितता र भ्रस्टाचारविरुद्ध स्थानीयवासी सडकमा उत्रिएको र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छानबिन र कानुनी कारबाहीको माग गरेका छन्।