पर्सा, १४ कार्तिक आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार छनोट प्रक्रिया अघि बढेसँगै पर्साको धोबीनी गाउँपालिकामा अध्यक्ष पदका आकांक्षीहरूको दौडधुप तीव्र बनेको छ। पालिकाको नेतृत्व लिन पार्टीभित्र पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा देखिन थालेपछि उम्मेदवार छनोटको विषय स्थानीय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ।

धोबीनी गाउँपालिकामा रास्वपाको पालिका अधिवेशनसमेत सम्पन्न हुन नसकेको अवस्थामा अध्यक्ष पदका आकांक्षीहरू भने आफ्नो दाबेदारी प्रस्तुत गर्न सक्रिय देखिएका छन्। पार्टीको आन्तरिक संगठन निर्माण र अधिवेशनभन्दा उम्मेदवार बन्ने दौडधुपले प्राथमिकता पाएको भन्दै यसले पार्टीभित्रको संगठनात्मक अवस्था र आन्तरिक अनुशासनमाथि समेत प्रश्न उठाएको छ।

यसैगरी धोबीनी गाउँपालिकामा अध्यक्ष पदका आकांक्षीका रूपमा सुदिल पटेल, राजु पटेल, सुरेश प्रसाद कुर्मी र सन्तोष पटेलको नामसमेत चर्चामा रहेको स्थानीय नेताहरूले बताएका छन्।
पार्टीको आवेदन प्रक्रिया पूरा हुँदासम्म अध्यक्ष पदका आकांक्षीहरूको सङ्ख्या अझै बढ्न सक्ने एक स्थानीय नेताले बताएका छन्। सामाजिक सञ्जालमार्फत विभिन्न नारासहित व्यक्तिगत प्रचारप्रसार गर्ने क्रमसमेत सुरु भएको छ। उम्मेदवार छनोटको औपचारिक प्रक्रिया टुङ्गोमा नपुग्दै आकांक्षीहरूको प्रचार तीव्र हुनुले पार्टीभित्र प्रतिस्पर्धा थप चर्किने सङ्केत गरेको छ।

धोबीनी गाउँपालिकामा रास्वपाको संगठनात्मक अवस्थालाई हेर्दा चन्द्रिका प्रसाद पटेल बलियो दाबेदारका रूपमा चर्चामा रहेको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ। उनलाई चुनौती दिन सक्ने अन्य आकांक्षीहरू को–को छन् भन्ने विषयमा समेत बहस सुरु भएको छ। यद्यपि, पार्टीले औपचारिक रूपमा उम्मेदवार घोषणा नगरेसम्म कसैलाई पनि निश्चित उम्मेदवारका रूपमा लिन सकिने अवस्था छैन।
राष्ट्रिय सफलताको प्रभाव स्थानीय निर्वाचनमा कति?
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि पार्टीप्रति राजनीतिक आकर्षण बढेको विश्लेषण गरिँदै आएको छ। यही राजनीतिक माहोललाई आधार बनाएर धोबीनीमा पनि रास्वपाबाट उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या बढेको हुन सक्ने देखिन्छ।

तर प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सफलतालाई स्थानीय तहको निर्वाचनको सम्भावित परिणामसँग सोझै जोडेर हेर्न सकिँदैन। स्थानीय निर्वाचनमा पार्टीको प्रभावसँगै उम्मेदवारको व्यक्तिगत छवि, विगतको राजनीतिक पृष्ठभूमि, स्थानीय मुद्दाप्रतिको बुझाइ, सामाजिक सम्बन्ध र मतदातामाझको स्वीकार्यताले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।

धोबीनी गाउँपालिकामा विगतदेखि नेतृत्व गर्दै आएका जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास र सेवा प्रवाहका काम पर्याप्त रूपमा देखाउन नसकेको भन्ने असन्तुष्टि स्थानीय राजनीतिमा प्रभाव पार्ने विषय हुन सक्छ। यद्यपि, यस्तो असन्तुष्टिको वास्तविक प्रभाव आगामी निर्वाचनमा मतदाताको निर्णयबाट मात्रै स्पष्ट हुनेछ।

विकास र सुशासन आगामी नेतृत्वका मुख्य चुनौती
धोबीनी गाउँपालिकामा आगामी नेतृत्वका लागि भौतिक पूर्वाधार विकास, सडक तथा ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य, बजार व्यवस्थापन र फोहोर व्यवस्थापन प्रमुख चुनौतीका विषय रहनेछन्।
नागरिकले आधारभूत सेवा सहज रूपमा पाउने व्यवस्था गर्नु, विकास निर्माणमा पारदर्शिता कायम गर्नु र स्थानीय आवश्यकताअनुसार योजना कार्यान्वयन गर्नु नयाँ नेतृत्वका लागि महत्त्वपूर्ण हुनेछ। जनताका दैनिक समस्या समाधान गर्न सक्ने, विकास निर्माणमा जवाफदेहिता देखाउने र सुशासनलाई प्राथमिकता दिने नेतृत्वप्रति मतदाताको अपेक्षा रहने देखिन्छ।

यस्तो अवस्थामा रास्वपाले धोबीनीमा कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय पार्टीभित्रको प्रतिस्पर्धामा मात्रै सीमित रहने छैन। आकांक्षीहरूको राजनीतिक पृष्ठभूमि, संगठनप्रतिको योगदान, स्थानीय नागरिकसँगको सम्बन्ध र गाउँपालिकाका समस्याप्रति उनीहरूको स्पष्ट दृष्टिकोणले पनि उम्मेदवार छनोटमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
कसले मार्ला बाजी
धोबीनी गाउँपालिकामा अध्यक्ष पदका आकांक्षीहरूको सङ्ख्या बढ्दै जाँदा रास्वपाभित्रको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। पुराना राजनीतिक अनुभव भएका र नयाँ अनुहारका रूपमा प्रस्तुत भइरहेका आकांक्षीहरूबीच कसले पार्टीको विश्वास जित्छ भन्ने प्रश्न अहिले स्थानीय राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

अध्यक्ष पदका लागि आकांक्षीहरूको सङ्ख्या बढ्नु मात्र चुनावी सफलताको आधार बन्न सक्दैन। पार्टीले कस्तो मापदण्डका आधारमा उम्मेदवार छनोट गर्छ र छनोट भएका उम्मेदवारले स्थानीय नागरिकका अपेक्षा पूरा गर्ने कस्तो योजना अघि सार्छन् भन्ने विषयले धोबीनीको आगामी चुनावी प्रतिस्पर्धालाई थप अर्थपूर्ण बनाउनेछ