चैत्र २७ काठमाडौं____ कर्मचारी प्रशासनभित्र फेरि एकपटक सरुवाको नाममा व्यापक चलखेल, दबाब र त्रासको वातावरण सिर्जना भएको आरोप उठेको छ ।सुशासन र पारदर्शिताको नारा लगाउने सरकारकै नेतृत्वमा कर्मचारीहरूलाई ‘तपाईँको नाम सरुवाका लागि आएको छ’ भन्दै मानसिक दबाब दिने, धम्क्याउने र अनावश्यक त्रास फैलाउने काम भइरहेको स्रोतहरूको दाबी छ ।

कर्मचारी वृत्तमा अहिले सरुवा नै सबैभन्दा ठूलो आतंकको विषय बनेको छ । सरुवाको मापदण्ड, आवश्यकता र प्रक्रिया स्पष्ट नभई उच्च पदस्थ व्यक्तिहरूको स्वार्थ, पहुँच र दबाबका आधारमा कर्मचारी हेरफेर भइरहेको गुनासो बढ्दै गएको छ । केही मन्त्रालय र विभागमा त केही महिनाअघि मात्रै सरुवा भएका कर्मचारीलाई पुनः अर्को ठाउँमा पठाउने काम भएको पाइएको छ ।

सामान्यतया तोकिएको समयावधि पूरा नगरी कर्मचारीलाई फेरि सरुवा गर्नु प्रशासनिक अस्थिरता र संस्थागत कमजोरीको संकेत मानिन्छ । तर पछिल्लो समय किन, कसको दबाबमा र कुन स्वार्थका लागि कर्मचारीहरूलाई पुनः सरुवा गरियो भन्नेबारे कुनै स्पष्ट जवाफ सरकारी निकायसँग छैन ।

कर्मचारीहरूका अनुसार सरुवा सूची सार्वजनिक हुनुअघि नै ‘तपाईँको नाम परेको छ’, ‘मिलाउनुपर्छ’, ‘यतै बस्न चाहनुहुन्छ भने पहल गर्नुपर्छ’ जस्ता संकेत दिएर प्रभाव पार्ने प्रयास भइरहेको छ । यसले कर्मचारी प्रशासनभित्र दलाल संस्कृति, पहुँचको राजनीति र आर्थिक चलखेल मौलाएको आशंका बलियो बनाएको छ ।

सरकारले एकातिर सुशासन, निष्पक्षता र कर्मचारीमैत्री प्रशासनको भाषण गर्ने, अर्कोतिर कर्मचारीलाई त्रसित बनाउँदै जथाभावी सरुवा गर्ने प्रवृत्तिले कर्मचारीहरूको मनोबल खस्किँदै गएको छ । बारम्बारको अनिश्चितता, असुरक्षा र दबाबले कर्मचारीहरू आफ्नो काममा केन्द्रित हुन नसक्ने अवस्था सिर्जना भएको छ ।

यदि यही प्रवृत्ति रोकिएन भने कर्मचारी प्रशासनभित्रको असन्तोष अझ गहिरिने, संस्थागत अनुशासन कमजोर हुने र सेवा प्रवाहमै प्रत्यक्ष असर पर्ने चेतावनी कर्मचारी वृत्तबाट आउन थालेको छ ।