हनुमत कुमार यादव

पौष १९ रौतहट __ रौतहटमा जाली नोट सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयको कर्मचारी सङ्घ वीरगञ्ज समितिद्वारा जिल्लाको राजदेवी नगरपालिका वडा नं ९ बरहमपुरीमा जाली नोट सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । ‎वित्तीय साक्षरता कम भएका स्थानीय महिला, वृद्धवृद्धा तथा सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका सहायक निर्देशक सन्देश कुमार ठाकुरले जाली नोटको पहिचान गर्ने तरिका, सक्कली र नक्कली नोटबीचको भिन्नता तथा त्यसबाट जोगिने उपायहरूबारे भिडियो सामग्रीसहित सचेतनामूलक प्रस्तुति दिनुभयो । उहाँले सहभागीहरूलाई सक्कली तथा नक्कली नोट देखाउँदै त्यसमा रहेका प्रमुख चिन्ह, बनावट र सुरक्षात्मक विशेषताहरूको व्यावहारिक जानकारी गराउनुभएको थियो।

साथै नक्कली नोटबाट बच्न आम जनमानसले दैनिक नोट लेनदेनमा विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । ‎कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक सुशील पौडेलले नक्कली नोटलाई अर्थतन्त्रको रोगको संज्ञा दिँदै यसको नियन्त्रण र उपचारका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले दैनिक जीवनमा नोट लेनदेन गर्दा सजगता अपनाउनुपर्ने उल्लेख गर्दै नेपाली बजारमा ठूलो गिरोह सक्रिय नभए पनि सामान्य प्रिन्टिङमार्फत नक्कली नोट बजारमा आउने गरेको बताउनुभयो । विगतमा विभिन्न स्थान तथा नाकाबाट यस्ता नक्कली नोट फेला परिरहेको सन्दर्भ उल्लेख गर्दै नक्कली नोट फेला परेमा प्रहरीमा बुझाउनुपर्ने र नियतवश नभएको अवस्थामा कानुनअनुसार कुनै किसिमको कारबाही नहुने विषयमा स्पष्ट पार्नुभयो ।

नोट पहिचानका लागि यस्ता वित्तीय साक्षरता कार्यक्रम समय–समयमा आवश्यक रहेको उहाँको भनाइ थियो । नक्कली नोटलाई छामेर, ढल्काएर तथा ध्यानपूर्वक हेर्दा सजिलै छुट्याउन सकिने उहाँले स्पष्ट पार्नुभयो । ‎कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ वीरगञ्ज समितिका अध्यक्ष राकेश कुमार शाहले गर्नुभएको थियो । उहाँले नक्कली नोटबाट सचेत हुनको लागि जनस्तरमा प्रचारप्रसार गर्नुपर्ने साथै यस्ता सचेतनामूलक जानकारीहरू घरपरिवार, छरछिमेक तथा समुदायमा सामाजिक सञ्जाल मार्फत फैलाउनुपर्नेमा जोड दिनुभयो ।‎ ‎उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर प्रमुख भिखारी प्रसाद यादव अतिथि समाजसेवी नविन कुमार सिंह लगायतका गन्माण्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । ‎कार्यक्रमले स्थानीय बासिन्दामा जाली नोटप्रति सचेतना बढाउनुका साथै सुरक्षित वित्तीय व्यवहार अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।