पौष ९ काठमाडौँ ___ भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ ।

उक्त भवनको मंगलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाशकुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रूपमा गरे ।

सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको रु चार करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

नयाँ भवन तीन र आधा तलाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले नयाँ विद्यालय भवनका लागि भारत सरकारले प्रदान गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

भारत–नेपालबीचको साझेदारी विकास, शिक्षा, पूर्वाधार लगायतका विविध क्षेत्रमा फैलिएको छ । विद्यालय भवन निर्माणका लागि गरिएको सहयोगलाई दुई देशबीचको गहिरो सम्बन्ध र बहुआयामिक सहकार्यको प्रतिविम्बका रूपमा हेरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा यस्तो सहकार्यले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै देशको विकास र समृद्धिमा योगदान पुर्‍याउने उल्लेख गरिएको छ ।