पौष ६ एजेन्सी ___रुसले शान्ति वार्तालाई त्रिपक्षीय बनाउने युक्रेनको प्रस्ताव अस्वीकार गरेको छ । यद्यपि, युद्ध अन्त्यका विषयमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुन सक्ने संकेत दिएको छ । रुसले युक्रेन, रुस र अमेरिकाबीच कुनै पनि त्रिपक्षीय वार्ताका लागि तयार नरहेको आइतबार (२१ डिसेम्बर) स्पष्ट पारेको हो । जेलेन्स्कीले वासिंटनले यस्तो प्रस्ताव अघि सारेको दाबी गरेपछि रुसको यो प्रतिक्रिया आएको हो । जेलेन्स्कीले युरोपेली प्रतिनिधिको उपस्थिति पनि सम्भव हुन सक्ने बताएका थिए । यद्यपि, उनले स्वयं यस्ता बैठकबाट कुनै ठोस प्रगति हुनेमा शंका व्यक्त गरेका थिए । यसबीच रुसी राष्ट्रपति पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभले यस पहलमा कसैले पनि गम्भीर रूपमा छलफल नगरेको र कुनै तहमा यस्तो तयारीसमेत नभएको बताए।

मायामी वार्ताबाट आशा

यसैबीच, रुसी दूत किरिल दिमित्रिएभ शनिबार मायामी पुगेका छन् । यो वार्ता अमेरिकी विशेष दूत स्टिभ विट्कफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा भइरहेको छ । उसाकोभका अनुसार, दिमित्रिएभ मोस्को फर्किएपछि प्रतिवेदन पेश गर्नेछन् र त्यसपछि थप रणनीतिबारे छलफल हुनेछ । उनले अमेरिकाको संशोधित प्रस्ताव अझै रुसले प्राप्त नगरेको जनाउँदै, उक्त प्रस्ताव युक्रेनी र युरोपेली टोलीसँगको छलफलपछि तयार पारिएको बताइएको छ ।

रुस र युक्रेनबीच अन्तिम आधिकारिक प्रत्यक्ष वार्ता जुलाईमा इस्तानबुलमा भएको थियो । उक्त वार्तामा केही बन्दीहरूको आदान–प्रदानमा सहमति बनेको थियो । तर, शान्ति प्रक्रियामा कुनै ठोस प्रगति हुन सकेको थिएन ।मायामीमा यसपटक युरोपेली र रुसी प्रतिनिधिहरूको उपस्थिति अघिल्ला प्रयासभन्दा एक कदम अगाडि मानिएको छ । यसअघि अमेरिकाले दुवै पक्षसँग अलग–अलग स्थानमा वार्ता गर्दै आएको थियो, तर यसपटक प्रक्रिया एकै स्थानमा भइरहेको छ । तैपनि, करिब चार वर्षदेखि जारी युद्ध र दुवै देशबीचको अत्यन्त तनावपूर्ण सम्बन्धलाई हेर्दा प्रत्यक्ष शान्ति वार्ताको सम्भावनाबारे शंका कायमै रहेको बताइएको छ ।

पुटिन युरोपसँग प्रत्यक्ष वार्ता चाहँदैनन्

मस्कोको तर्कअनुसार युरोपेली देशहरूको प्रत्यक्ष सहभागिताले वार्ता प्रक्रिया झन् जटिल बनाउने गर्छ । फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएयता रुसले पश्चिमी देशहरूको हस्तक्षेपका कारण वार्ता ढिलो भइरहेको दाबी गर्दै आएको छ । अर्कातर्फ, युक्रेनले भने युरोपेली उपस्थिति आवश्यक रहेको बताउँदै आएको छ । युद्धको प्रभाव सम्पूर्ण युरोपेली महाद्वीपमा परेको र दुवै पक्षबीचको गहिरो अविश्वासका कारण मायामी वार्ताको वातावरण अझ जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

यसैबीच, जेलेन्स्कीले विगत एक हप्तामा रुसले युक्रेनमाथि करिब १३ सय ड्रोन आक्रमण, झन्डै १२ सय गाइडेड हवाई बम र विभिन्न प्रकारका नौवटा मिसाइल प्रहार गरेको दाबी सामाजिक सञ्जाल एक्समा गरेका छन् । उनका अनुसार ओडेसा क्षेत्र र देशको दक्षिणी भाग सबैभन्दा बढी प्रभावित भएको छ । एकातिर मायामीमा कूटनीतिक प्रयास जारी रहे पनि, अर्कोतिर जमीनी अवस्था र बढ्दो आक्रमणले कुनै सम्भावित सम्झौतालाई झन् कठिन बनाइरहेको बताइएको छ ।

माक्रोंसँग भेट्न तयार पुटिन

यी सबैबीच रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिन फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंसँग वार्ता गर्न तयार रहेको बताएका छन् । पेस्कोभका अनुसार, राजनीतिक इच्छाशक्ति भए यस्तो वार्ता सकारात्मक परिणामतर्फ जान सक्ने पुटिनको धारणा रहेको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले पनि रुसको यस अभिव्यक्तिलाई स्वागत गरेको छ। वास्तवमा, माक्रोंले शुक्रबार युरोप र युक्रेनका लागि पुटिनसँग प्रत्यक्ष संवाद उपयोगी हुन सक्ने बताएका थिए ।

उनको भनाइअनुसार, यदि युरोपेली देशहरू आपसमा मात्र छलफलमा सीमित भए र रुससँग वास्तविक वार्ता अलग रूपमा चलिरह्यो भने समाधान कठिन हुनेछ । बर्लिनमा गत हप्ता युक्रेनी, अमेरिकी र युरोपेली प्रतिनिधिहरूबीच भएको छलफलपछि मायामीमा सुरु भएको वार्ताको पहिलो चरणलाई रुसी वार्ताकार किरिल दिमित्रिएभले रचनात्मक भनेका छन् ।