पौष ३ एजेन्सी ___  भारतले बंगलादेशका ढाकास्थित आफ्नो दूतावासको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पणको माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन भइरहेको छ । राजधानी ढाकामा बुधबार ठूलो संख्यामा प्रदर्शनकारीहरू भारतीय उच्चायोगतर्फ मार्च गर्दै निस्किएका थिए । तर, प्रहरीले उनीहरूलाई बाटोमै रोकेको थियो । यो प्रदर्शन ‘जुलाई ओयिक्को’ नामक ब्यानरअन्तर्गत भएको थियो । प्रदर्शनकारीहरू भारतविरोधी नारा लगाउँदै थिए । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना तथा अन्य नेताहरूको प्रत्यर्पणको माग गर्दै थिए, जो गत वर्ष जुलाईमा भएको जनआन्दोलनपछि देश छोडेर गएका थिए ।

प्रहरीका अनुसार, यो जुलुस रमपुरा ब्रिजबाट सुरु भएको थियो । प्रहरीले यसलाई नर्थ बड्डा क्षेत्रको हुसैन मार्केटनजिकै रोकेको थियो, जहाँ भारतीय उच्चायोग अवस्थित छ ।सुरक्षाका कारण कूटनीतिक क्षेत्रतर्फ जाने मुख्य सडकहरूमा धेरै घण्टासम्म यातायात बन्द रह्यो । स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रहरीले पहिले ब्यारिकेडहरू राखेका थिए, जसलाई प्रदर्शनकारीहरूले भत्काएका थिए । प्रदर्शनकारीहरू भारतविरोधी नारा लगाएका थिए । शेख हसिनालाई भारतबाट फर्काउनुपर्ने माग गरेका थिए । यस क्रममा एक प्रदर्शनकारीले भने, “हामी भारतीय उच्चायोगमा आक्रमण गर्दैनौँ, तर कसैले बंगलादेशमाथि दबदबा जमाउने कोसिस गर्छ भने उसलाई छोडिँदैन ।”

प्रदर्शनकारीहरूले भारतसमर्थित राजनीतिक दल, सञ्चारमाध्यम र सरकारी अधिकारीहरूले बंगलादेशविरुद्ध षड्यन्त्र गरिरहेका आरोप लगाएका छन् । शेख हसिना गत वर्ष ५ अगस्ट २०२४ मा विद्यार्थी आन्दोलनपछि सत्ताच्यूत भएर भारत भागेकी थिइन् । बंगलादेशको एक विशेष अदालतले हालै गत वर्षको आन्दोलनका क्रममा हिंसात्मक कारबाहीका लागि उनलाई अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।

भारतीय दूतावासको सुरक्षा बढाइयो

ढाका प्रहरीका डेप्युटी कमिस्नर नुर–ए–आलम सिद्दीकले भारतीय दूतावास भएको क्षेत्रको सुरक्षाका लागि सहरका विभिन्न भागबाट थप प्रहरी बल बोलाएको बताए ।यो प्रदर्शनको नेतृत्व ढाका विश्वविद्यालय सेन्ट्रल स्टुडेन्ट्स युनियनका सोसल वेलफेयर सेक्रेटरी एबी जुबैरले गरेका थिए । प्रहरीले रोकेपछि प्रदर्शनकारीहरू सडकमा बस्दै ‘दिल्ली होस् वा ढाका, ढाका नै ढाका हो’ जस्ता नारा लगाएका थिए ।

भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) अस्थायी रूपमा बन्द

ढाकामा भारतले बुधबार आफ्नो भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) अस्थायी रूपमा बन्द गरेको छ । यो केन्द्र ढाकाको जमुना फ्युचर पार्कमा छ । राजधानीमा सबै भारतीय भिसा सेवाहरूको मुख्य एकीकृत केन्द्र मानिन्छ । आईभीएसीले एक वक्तव्यमा सुरक्षा व्यवस्थाका कारण बुधबार दिउँसो २ बजेपछि केन्द्र बन्द गरिएको बताएको छ । यसअघि, नयाँ दिल्लीमा विदेश मन्त्रालयले बंगलादेशका उच्चायुक्त रियाज हामिदुल्लाहलाई बोलाएको थियो । मन्त्रालयले ढाकामा भारतीय मिसन वरपर केही कट्टरपन्थी तत्वहरूले सुरक्षा वातावरण बिगार्ने योजनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो । भारतले कूटनीतिक मिसनहरूको सुरक्षा सुनिश्चित गर्न बंगलादेशको अन्तरिम सरकारको जिम्मेवारी भएको बताएको छ ।

बंगलादेशमा फेरि किन बिग्रियो अवस्था ?

अज्ञात आक्रमणकारीहरूले गत वर्षको आन्दोलनका प्रमुख नेता शरिफ उस्मान हादीमाथि गोली हानेपछि गत हप्ता अवस्था थप तनावपूर्ण बनेको थियो । उनी अहिले गम्भीर घाइते छन् । यसबाहेक, बंगलादेश नेशनलिस्ट पार्टीका एक उमेदवारले पनि सुरक्षाका कारण चुनाव नलड्ने निर्णय गरेका छन् । जुलाई–अगस्ट आन्दोलनका एक प्रमुख नेता महफुज आलमले आन्दोलनका नेताहरू सुरक्षित नभए उनका विरोधीहरू पनि सुरक्षित नरहने चेतावनी दिएका छन् । पीटीआई र डेकेन हेराल्डबाट ।