पौष २ वीरगंज ___ रोहिंग्या मुसलमान हुनसक्ने आशंकामा नेपाली सुरक्षाकर्मीले भारतको उत्तर प्रदेश घर बताउने एक समूहलाई वीरगंज नाकाबाट भारततर्फ फिर्ता पठाएका छन्। बालबालिका तथा परिवारसहित नेपाल प्रवेश गरेका ती व्यक्तिहरूलाई वीरगंज भन्सारमा रोकि नियमित जाँच गरिएको थियो। सोधपुछका क्रममा उनीहरूले नेपालमा आएर खेतीपाती गर्ने उद्देश्य रहेको बताएका थिए। तर सुरक्षा निकायका अनुसार उनीहरूको पहिचान, कागजात र नेपाल प्रवेशको उद्देश्यप्रति शंका उत्पन्न भएपछि थप सोधपुछ गरिएको थियो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले उत्तर प्रदेशमा बसोबास गर्ने दाबी गरे पनि उनीहरूको गतिविधि र भनाइमा असंगति देखिएको सुरक्षाकर्मीले बताएका छन्। सीमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै उनीहरूलाई तत्काल भारततर्फ फिर्ता पठाउने निर्णय गरिएको हो। नेपाली सुरक्षाकर्मीले सीमा क्षेत्रबाट अवैध प्रवेश, शरणार्थीको रूपमा बसोबास गर्ने प्रयास वा सुरक्षा चुनौती निम्त्याउन सक्ने गतिविधिप्रति निगरानी कडा बनाइएको जनाएका छन्। पछिल्लो समय सीमा क्षेत्रमा यस्ता समूहहरूको आवतजावत बढ्दै गएको भन्दै सुरक्षा निकाय उच्च सतर्कतामा रहेको बताइएको छ। यस घटनाबारे थप अनुसन्धान तथा आपसी समन्वयका लागि भारतीय सुरक्षाकर्मीलाई समेत जानकारी गराइएको जनाइएको छ।