जिराभवानी । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाको १५औं गाउँसभा आइतबार सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ३ स्थित सभाहलमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३४ करोड १० लाख ४९ हजार ५२८ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।
गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै समावेशी विकास, नागरिकमुखी सेवा प्रवाह र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिइन्।

उक्त गाउँसभामा गाउँपालिका अध्यक्ष अनोज चौधरीले अध्यक्षता गर्दै समग्र विकासमा सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा, कृषिको आधुनिकीकरण र रोजगारी सिर्जनालाई नीति तथा कार्यक्रममा मुख्य प्राथमिकता दिइएको स्पष्ट पारे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुसवाहाले स्वागत मन्तव्य दिंदै स्थानीय तह जनताको प्रत्यक्ष सरोकारको तह भएकाले जिम्मेवारी पनि बढेको बताए। उनले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा अघिल्लो वर्षहरूको तुलनामा कटौती भएको उल्लेख गर्दै राजस्व संकलनमा स्थानीय जनताको पनि सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।

सभामा आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो। यो विवरण गाउँपालिका अध्यक्ष अनोज चौधरीद्वारा सार्वजनिक गरिएको हो।कार्यक्रममा वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी गाउँपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।गाउँसभा कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख शिवराज फुयालले गरेका थिए।