पोखरिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल, काठमाडौँस्थित केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।

श्रीवास्तवमाथि योजना स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा संगठित रूपमा अनियमितता गर्दै अवैध घुस असुली गरेको आरोप पटक–पटक लाग्दै आएको थियो।

पोखरिया र बहुदरमाई नगरपालिकामा लगातार बढेका गुनासोपछि उनलाई निगरानीमा राखिएको थियो। प्रारम्भिक प्रमाण संकलनपछि अख्तियारले कारबाहीको बाण चलाएको हो। त्यति मात्र होइन — आयोगले पर्सा जिल्लाकै पोखरिया नगरपालिकामा एकैसाथ ठूलो ‘अपरेशन’ सञ्चालन गर्दै लेखा, योजना, प्रशासनलगायतका विभिन्न शाखामा छापा मारेको छ।

आयोगका अनुसार, पोखरिया नगरपालिकाले अनाधिकृत कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन र योजनाको कार्यान्वयनमा खुलेआम कानुन मिच्दै भ्रष्टाचार गरेको उजुरीका आधारमा यो छापा मारिएको हो।
प्रारम्भिक अनुसन्धानमै गम्भीर अनियमितताको संकेत भेटिएपछि अख्तियारले ठूलो तयारीसहित छापा मारेको जनाइएको छ।

अहिले अजय श्रीवास्तव अख्तियारको नियन्त्रणमा छन् भने पोखरिया नगरपालिकाका कागजातहरू आयोगको कब्जामा।