पर्सा । सखुवाप्रसौनी गाउँपालिका–२ मा अगुवा कृषकहरूलाई लक्षित गरी “माटोको नमूना संकलन तथा धान खेती प्रविधि सम्बन्धी स्थलगत घुम्ती तालिम” सम्पन्न भएको छ। तालिम वडा नम्बर २ का अध्यक्ष श्री चिरञ्जीवी महतो थारुको अध्यक्षतामा सम्पन्न भएको थियो।

तालिममा सखुवाप्रसौनी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रीया साह तेली र प्रशिक्षक दायाराम वाग्लेले कृषकहरूलाई माटो परीक्षणको महत्त्व, माटोको नमूना संकलन गर्ने सही तरिका, उन्नत धान खेती प्रविधि, मल व्यवस्थापन, कीट नियन्त्रण, तथा आधुनिक खेती प्रणालीबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्री चिरञ्जीवी महतो थारुले कृषकहरूलाई वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न आग्रह गरे। उनले उत्पादन वृद्धिका लागि माटो परीक्षण आवश्यक रहेको बताउँदै यस प्रकारका तालिमहरूले कृषकहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने उल्लेख गरे।

तालिममा सहभागी कृषकहरूले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमको समापन धन्यवाद ज्ञापन गर्दै कृषि शाखा प्रमुख प्रीया साह तेलीले कृषकहरूको चासो र उत्साहप्रति खुसी व्यक्त गरे।तालिममा ३२ जना सहभागीहरु र सखुवाप्रसौनी गाउँपालिका कृषि शाखा सहायक प्रविधिक मुकेश पटेल र कृपा सिन्धु चौधरी,वडा सदस्यहरु छोटेलाल पसवान,श्रीकान्ती देवी ,झपसी पसवान,रामराज राउतको उपस्थिति रहेको थियो।