वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन्। संघको आज सम्पन्न पदाधिकारी निर्वाचनमा सर्वसम्मत रूपमा गौतम अध्यक्षमा चयन भएका हुन्।

संघको नयाँ नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजी प्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवमा प्रेमचन्द्र गोयल र सुशान्त चाचान निर्वाचित भएका छन्। सह–कोषाध्यक्षमा निरज अग्रवाल, सहसचिवमा नरेश टिवडेवाल निर्विरोध चयन भएका छन् भने अर्का सहसचिवमा अनुप अग्रवाल निर्वाचन प्रक्रियाबाट विजयी भएका छन्।

नवनिर्वाचित अध्यक्ष गौतमले आफ्नो नेतृत्व चयनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य गर्दै संघलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।

संघको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ। निवर्तमान अध्यक्ष स्वतः पदाधिकारीको रूपमा रहने व्यवस्था समेत रहेको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए। त्यस्तै, तृतीय उपाध्यक्ष (रोजगारदाता समितिको संयोजक) पदको मनोनयन संघको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने छ ।